Erani Mahal
के हो ह्यान्ड, फुट एन्ड माउथ डिजिज?
dr-roji1637242054
जाडो बढेसँगै साना बच्चाहरुमा यो रोग अलि बढी देखिन थालेको छ। ओपिडीमा दैनिक रुपमा बिरामी बच्चाको संख्या बढ्न थालेपछि यो विषयमा जनचेतना थप फैलाउन आवश्यक रहेको देखिन्छ । के हो ह्यान्ड, फुट एन्ड माउथ डिजिज? यो रोग सामान्य किसिमको संक्रामक भाइरल इन्फेक्सन हो। यो कक्स्याकी भाइरसबाट लाग्ने गर्दछ। यसको इन्क्युबेसन पिरियड (भाइरस शरीरमा प्रवेश गरेपछी पहिलो लक्षण देखिने अवधि) तीनदेखि ६ दिनसम्म हुन सक्दछ। यो रोग प्राय: १० वर्षभन्दा कम (अझ भन्नु पर्दा पाँच वर्ष भन्दा कम) उमेर समूहका बालबालिकाहरुलाई लाग्ने गरेको देखिन्छ। ठूला उमेर समूहलाई त्यति नदेखिए पनि लाग्दै नलाग्ने भन्ने चाँही हुँदैन। के हुन यसका मुख्य लक्षणहरु? -भाइरल प्रोडोम :ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने बच्चालाई सन्चो नभए जस्तो हुने - बच्चा सामन्य अवस्थामा भन्दा बढी झिझ्झिने - प्राय स-सना पानी फोकाहरु हात, खुट्टा, कहिलेकाहीँ दिशा गर्ने ठाँउको वरिपरी, मुख वरिपरी आउने अनि मुख भित्र दुख्ने घाउहरु देखा पर्ने। सामन्यत: भाइरल प्रोडोम देखा परेको केही दिनपछि अथवा भाइरल प्रोडोम निको भएपछि हात, खुट्टा, मुखमा पानी फोका देखिने गर्दछ। मुख भित्रको घाउले गर्दा बच्चाले खान नखोज्ने, रुने, दुख दिने देखिन्छ। लक्षणहरु प्राय ७-१० दिन जतिमा बिस्तारै हराएर जान्छ्न्। यो रोग के बाट सर्ने गर्दछ? यो रोग बच्चाहरुमा छिटो सर्ने रोग हो। यो प्राय रोगीहरुको निम्न कुराबाट सर्ने गर्दछ: - हावामा फैलिएका खकार तथा थुकका छिट्टा - र्याल - फोकाबाट निस्केका पानी - दिशा -सिँगान रोगीको यी कुराहरुको सम्पर्कमा प्रत्यक्ष वा अप्रत्यक्ष आएमा रोग सर्ने सम्भावना बढी देखिन्छ। के-के जटिलता हुनसक्दछ? सेकेन्डेरी ब्याक्टेरियल इन्फेक्सन (घाउ पाक्न सक्ने)देखि असामान्य अवस्थामा: -भाइरल मेनिन्जाइटिस - भाइरल इन्सेफ्लाइटिस पनि हुन सक्छ। यसको रोकथाममा के के गर्न सकिन्छ? - पटक पटक साबुन पानीले हात मिचीमिची धुने - स्यानिटाइजर प्रयोग गर्ने - बच्चा खेल्ने, बस्ने ठाउँ तथा खेल्ने खेलौनाहरु डिसइन्फेक्ट गर्ने - बिरामी बच्चालाई स्वस्थ बच्चाहरुबाट छुट्टै राख्ने - बच्चाहरुलाई हेल्थ हाइजिनको बारेमा ज्ञान दिने (मुखमा हात लग्न हुँदैन, हात धुने तरिका, स्वस्थकर खानेकुरा, शुद्ध खानेपानी आदिको ज्ञान दिने।) यसको उपचार के हो? खासै यसको कुनै ठोस उपचार नभएकाले चिकित्सकको सल्लाह बमोजिम बच्चामा देखिने लक्षण अनुसारको उपचार गरिनुको साथै बच्चालाई पानी तथा झोलिलो खाने कुरामा जोड दिने। यसका साथै आरामको आवश्यकता देखिन्छ। कसैकसैले यसलाई दादुरा अनि ठेउला भनेर उपचार गर्ने गरेका पनि छ्न्। त्यसैले यस्तो खालको लक्षण तपाईंहरुको बाल बालिकाहरुमा देखिएमा सकेसम्म बालरोग विशेषज्ञ अथवा छाला रोग विषेशज्ञलाई देखाउँदा राम्रो हुन्छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update