Erani Mahal
पाल्पाका सरकारी तथा गैरसरकारी कार्यालयहरूकाे वार्षिक समीक्षा कार्यक्रम
sssss
पाल्पा – जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको समीक्षा कार्यक्रममा जिल्लाका १० वटा पालिकासहित ३४ वटा सरकारी तथा अर्धसरकारी कार्यालयहरुले आव २०७७/०७८ मा गरेका काम तथा प्रगतिका बारेमा प्रस्तुती राखेका थिए । यस्तै तीन वटा गैरसकारी संस्थाहरूले समेत गत आवमा विनियोजन भएको बजेट, कार्यक्रम एवं उपलब्धी प्रस्तुत गरेका थिए । समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा पूर्वमन्त्री एवं संघीय सांसद दलबहादुर रानाले विभिन्न कार्यालयले गर्ने कार्यक्रममा भईरहेको दोहोरोपना हटाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले स्थानीय तहले आफ्नो आन्तरिक आम्दानी बढाएर भाषा, संस्कृति सम्बद्र्धन गर्ने कार्यक्रम गर्नुपर्ने बताउनुभयो । सांसद रानाले पाल्पा जिल्ला देशभरिमै मगर समुदाय बाहुल्य जिल्ला भएकाले स्थानीय पाठ्यक्रम बनाएर मगर समुदायको भाषा तथा संस्कृतिको संरक्षणमा काम सक्ने बताउनुभयो । यस्तै लुम्विनी प्रदेश सभाका सदस्य नारायणप्रसाद आचार्य, डा. पुरनमान बज्राचार्य र युवराज खनालले कोभिडको संक्रमणका बेलामा पनि सरकारी तथा गैरसरकारी कार्यालयहरूले गरेको काम सन्तोषजनक रहेको बताउनुभएको थियो । उहाँहरूले स्थानीय तहहरूले आन्तरिक आम्दानी बढाएर मात्र आफूले भने र सोचे अनुसारको प्रगति हासिल गर्न सक्ने जिकिर गर्नुभयो । समीक्षा समापन कार्यक्रमा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले मानवीय स्वभावले गरेका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सरकारी तथा गैरसरकारी कार्यालयको उपलब्धीहरू स्पष्ट हुने गरी समीक्षा कार्यक्रम भएको उल्लेख गर्नुभयो । उहाँले कृषि तथा पशुपालन क्षेत्रमा लगानी ठूलो भएपनि उक्त लगानीको प्रतिफल स्थानीय नागरिकले उपभोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । प्रजिअ पन्तले नेपाललाई कृषि प्रधान देश भनिएपनि नेपालले कृषिजन्य बस्तु निर्यात गर्न नसक्नु विडम्वनाको कुरा भएको र यसलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष मोहन थापा, नेकपा (माओवादी केन्द्र)की प्रतिनिधि प्रतीक्षा सिंजाली, नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव मोहनलाल गैरे, राप्रपा पाल्पाका जिल्ला सदस्य देबेन्द्रबहादुर रायमाझी लगायतले मनतव्य तथा सुझाव राख्नुभएको थियो । यस्तै नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, नागरिक समाज पाल्पाका सहसंयोजक मीनबहादुर केसी, नेपाल नागरिक समाजका सभापति चित्रवलीराम सुवाल लगायतले आ–आफ्नो धारणासहित सुझाव राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले योजना स्टमेटमा उपभोक्ताले दुख पाउने गरेको, जिल्ला दररेट समय अनुसार परिवर्तन गर्नुपर्ने, कार्यक्रममा भईरहेको दोहोरोपना हटाउनुपर्ने, कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन समयमै ऐनकानुन तथा कर्मचारीको व्यवस्थापन हुनुपर्ने लगायतका सुझाव दिएका थिए । समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिकी उपप्रमुख मीरा मरासिनीको अध्यक्षता, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीको स्वागत र शाखा अधिकृत भावना पोखरेलले गर्नुभएको थियो । समीक्षा कार्यक्रम दुई दिनसम्म भएको हो । समीक्षा कार्याक्रममा निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिकाले प्रस्तुती गरेका थिए । यस्तै सडक डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, पशु विज्ञ तथा भेटेनगरी कार्यालय, सामाजिक डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पुल आयोजना पश्चिमसेक्टर कार्यालयले समेत प्रस्तुती राखेको थियो । समीक्षा कार्यक्रममा सुन्तला जात तथा फलफुल विकास केन्द्र, पाल्पा, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, खानेपानी तथा ढल विकास आयोजना अर्घाखाँची, नेपाली सेना, प्रहरी, प्रशासन लगायतले समेत आ–आफ्नो प्रस्तुती राखेका थिए । यस्तै गैरसरकारी संस्था महासंघ, हेफर परियोजना र सुआहारा कार्यक्रमको समेत प्रस्तुती भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update