Erani Mahal
रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल
IMG_2221
पाल्पा – कोभिड – १९ महामारीले सुनसान भएको रानीमहलमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । जिल्ला सदरमुकाम तानसेनबाट १३ कि.मि.उत्तरमा कालीगण्डकीको तिरमा रहेको भिरालो चट्टानमा रानीमहल अवस्थित छ । तीन तले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । करिब ६ रोपनी क्षेत्रफल समेटेको दरबार भित्रै पोखरी, मन्दिर, बगैँचा, सित्तलपाटी, घोडा बाँध्ने तबेला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् । रानीमहल भनेर नसुनेको मान्छे सायदै कम होलान्, जोकोही पर्यटकहरुलाई एकपटक रानीमहलले आफूतर्फ आकर्षित गरेकै हुन्छ । तर कोभिड – १९ महामारीका कारणा लामो समय सम्म सुनसान बनेको थियो । अहिले यस क्षेत्रमा चहलपहल बढ्न थालेपछि त्यहाँका स्थानीय हर्षित बनेका मात्रै छैनन्, स्थानीय आयस्रोत समेत वृद्धि भएको छ । रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दै संचालनमा आएका रिसोर्ट तथा पसलहरुमा समेत आर्थिक चहलपहल सुरु भएको छ । अहिले दैनिक रूपमा रानीमहलमा दुइ–तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरु रानीमहल घुम्न आउने गरेका छन् । छुट्टीको दिनमा पिकनिक खानेसहित घुम्न आउने ६ सय जनाभन्दा बढी हुने गरेको स्थानीय व्यवसायी विमल पाण्डेले बताउनुभयो । अव्यवस्थित र जीर्ण रानीमहललाई नेपालको ताजमहल भनेर समेत चिनिन्छ । रमणीय स्थल रहेकोले जो–कोहीको पनि मन सजिलै लोभ्याउन सक्ने यस स्थानसम्म आइपुग्दा भौतिक पुर्वाधारका कारण दुःख पाएको र रानी महल क्षेत्र अलि व्यवस्थित नभएको गुनासो भने घुम्न आएका पर्यटकहरुले गर्छन् । रानीमहल जीर्ण बन्दै गएपछि र भए गरेका सामानहरु समेत चोरी हुनथालेपछि रानीमहल अहिले स्थानिय सरकार तानसेन नगरपालिकाको स्वमीत्वमा रहेको छ । म्यूजियम राख्ने तयारी तानसेन नगरपालिकाले रानीमहलको जिम्मा लिएसँगै रानीमहल क्षेत्र आवतजावतको लागि बाटोको मर्मत–सम्भारका साथै दरबार परिसर सरसफाई गरिएको छ । साथै रानीमहलभित्रै इन्टनेट, खानेपानी तथा बिजुलीको समेत व्यवस्थापन गर्न थालेको छ । दरबारभित्रै खड्ग शम्शेर राणा र तेज कुमारीको फोटोसहित पुराना राणाकालिन साम्रग्री सहितको म्यूजियम समेत राख्ने तयारी गरिएको छ, जसका कारण थप पर्यटक भित्र्याउन र रानीमहललाई थप आर्कषणको केन्द्रविन्दु बनाउन सकिने तानसेन नगरपालिकाका वातावरण तथा सरसफाई अधिकृत शंकर भण्डारीले बताउनुभयो् । प्रेम जोडीहरुको प्रमुख गन्तव्य पाल्पा गौडाका तैनाथवाल प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा शुरु गरी ५ वर्ष लगाएर वि.स. १९५४ सालमा रानीमहल निर्माण पूरा गरेका थिए । सच्चा प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य मानिँदै आएको छ । अहिले रानीमहलमा दैनिक सयौँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । विशेष गरी कार्तिक र मंसिर महिनालाई पर्यटनको सिजनको रुपमा पनि लिने गरिन्छ । पाल्पा जिल्लाकै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको रानीमहललाई भौतिक पूर्वाधारदेखि लिएर सुविधासम्पन्न बनाउन सकिएको खण्डमा जिल्लामा पर्यटकको आगमन वृद्धि हुनेर र स्थानीय स्तरमा रोजगारीसहित राम्रो आयआर्जनको बाटो खुल्ने दखिन्छ । यसको लागि समयमै सरोकारहरुले ध्यान दिन जरुरी छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update