Erani Mahal
मासु खाने कि नखाने ?
meat1635753570
मासु खानेहरूले मासुकै प्रशंसा गर्छन् र मासु खानुपर्छ भन्छन् भने मासु नखानेहरूले मासु खानु हिंसा हो भन्दै मासु खानेहरूको निन्दा गर्न रुचाउँछन् । त्यसैले शाकाहारी र मांसाहारीका बीचमा सधैँ मतभिन्नता रहेको पाइन्छ । एक किलो मासु उत्पादन गर्न दश किलो खाद्यान्न खपत हुने भएका कारण एक किलो मासु खाने व्यक्तिले दशजना शाकाहारी व्यक्तिको खाद्यान्न हसुर्ने हुँदा विश्वमा खाद्य सङ्कट बढ्दै गएको हो। त्यसैले धेरैजसो विकसित देशका नागरिकहरूले मांसाहारीबाट शाकाहारीमा र शाकाहारीबाट पनि दुग्धजन्य पदार्थ नै नखाने ‘भेगन’का रूपमा आफ्नो परिचय दिन रुचाउने क्रम बढ्दो छ । नेपालका सन्दर्भमा कुरा गर्ने हो भने शाकाहारी व्यक्तिहरूका तुलनामा मांसाहारी व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको हो कि भन्ने आभास हुन थालेको छ । त्यसैले मासु खाने कि नखाने ? भन्ने विषय हिजो बहसकै विषय बनेको थियो, आज पनि बनिरहेको छ र भोलिसमेत बहसकै विषय बनिरहने कुरामा कसैको दुई मत छैन तापनि यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । मासु खाने कि नखाने ? मासु खाने कि नखाने ? भन्ने विषय प्राचीन कालदेखि वर्तमानसम्म मात्र होइन भविष्यमा समेत विवादकै रूपमा रहिरहनेछ । धेरैजसो विद्वान् पनि आफ्नो रुचिकै किनारा लागी एकपक्षीय प्रमाणलाई लिएर विवादित विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्न अग्रसर हुने भएकाले तिनका विचारहरू सर्वग्राह्य हुन सक्तैनन् र तटस्थ भएर विचार प्रवाह गर्ने व्यक्तिहरू पाइन पनि वर्तमानमा निकै मुस्किल छ । मासु मात्र खाने भन्दा मासुसँगै मदिरापन गर्नेहरूको सङ्ख्या वर्तमानमा बढदै गएको छ । मदिरापान गरेका अवस्थामा बुद्धि र विवेक दुवै प्रायः सामान्य अवस्थामा रहँदैनन् । मासु र मदिरापान गर्नाले सत्त्व गुणमा क्रमशः ह्रास आउँछ भने मासु र मदिरापान गर्नाले आर्थिक अवस्थासमेत ओरालो लाग्न थाल्छ । जसका कारण हाम्रो नैतिक समाजमा चोरी र डकैती मात्र होइन हिंसा र बलात्कारका घटनाहरूसमेत बढ्न थाल्छन् । जन्मजात र वंशगत रूपमा सानै उमेरदेखि मासु र मदिराको सेवन गर्नेहरूका तुलनामा जातै जाला कि भनेर लुकिछिपी मासु र मदिराको अनियन्त्रित सेवन गर्नेहरूले प्रायः हाम्रो समाजलाई अशान्त बनाउँदै आएको देखिन्छ । वैदिक सनातन पद्धतिमा मासु नखाने पक्षमा बढ्ता प्रमाणहरू भेटिन्छन् भने आधुनिक चिकित्सा विज्ञानले मासु खान जोड दिएको पाइन्छ । मासु किन नखाने ? संस्कृत वाङ्मयका वेदमा, ब्राह्मणग्रन्थमा, सूत्रग्रन्थमा, उपनिषद्मा, धर्मशास्त्रमा, इतिहासमा र पुराणग्रन्थहरूमा समेत बजारबाट खरिद गरिएको वा कुनै यज्ञमा समर्पण नगरिएको मासु खाने विधान उल्लेख गरिएको पाइँदैन । अथर्ववेदको आठौँ काण्डको छैटौँ सूक्त गर्भदोषनिवारण सूक्तका नामले प्रसिद्ध छ । त्यसको तेइसौँ मन्त्रमा काँचो मासु खाने, पकाएको मासु खाने र गर्भको भ्रूण वा अण्डा खानेबाट गर्भिणी स्त्रीलाई बचाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैगरी मनुस्मृति (५।४८) ले प्राणीको हिंसा नगरीकन मासु उपलब्ध नहुने र प्राणीलाई मारेर स्वर्ग पनि प्राप्त नहुने भएकाले मासु खान हुँदैन भन्ने निर्देश गरेको छ । बाघ, कुकुर, बिरालो आदि जीवहरूका दाँत, नङ्ग्रा, आमाशय आदि प्राकृतिक अङ्गहरू मांसाहारकै दृष्टिले बनेका हुन्छन् तर मान्छेमा त्यस्तो मांसोचित अङ्गहरू नभएकाले मान्छेलाई मासु नखान शास्त्रले जोड दिएको हो । दिनप्रतिदिन भौतिकवादले गर्दा विश्व अशान्त बन्दै गइरहेका सन्दर्भमा अध्यात्मवादको मार्ग श्रेयस्कर ठान्न थालिएको छ । मासु खाने व्यक्तिमा आध्यात्मिक चेतना तुलनात्मक रूपमा कम हुने भएकाले मासु नखान शास्त्रहरूले निर्देश गरेका हुन् । सुँगुर, कुखुरा र माछाले प्रायः दिसा वा दुर्गन्धित चीजहरू खान रुचाउँछन् । त्यसरी खाएर बाँचेका जीवहरूको हिंसा गरेर मासु खाँदा हाम्रो मस्तिष्कमा समेत तिनै दुर्गन्धित चीजहरूले गम्भीर प्रभाव पार्छन् । एकातिर जीवहिंसा हुने र अर्कातिर हाम्रो स्वास्थमा समेत प्रतिकूल प्रभाव पर्ने भएकाले पूर्वीय वाङ्मयमा मासु नखान निर्देश गरिएको हो । शास्त्रले मासु खाने छुट दिएकै छ त ? मांसभक्षणका सन्दर्भमा श्रीमद्भागवत (११।५।११) मा केही विचारणीय कुरा उल्लेख गरिएको छ । संसारमा मदिरापान, मांसभक्षण र व्यभिचार वा परस्त्रीगमन तीन किसिमका प्रमुख दुव्र्यसनहरू स्वाभाविक रूपमा देखिन्छन् । तिनका लागि शास्त्रीय विधान र प्रचारप्रसारको कुनै आवश्यकता नै पर्दैन किनभने अनेकौँ जीवजन्तुको योनि पार गरेर हामीले मनुष्य जन्म प्राप्त गरेका छौँ तर मान्छेमा पशुप्रवृत्तिको अन्त्य भने हुन सकेको छैन । जसका कारण मान्छेमा उपर्युक्त प्रमुख तीन दुव्र्यसनहरू स्वाभाविक रूपमा देखापर्ने गरेका हुन् र तिनको रोकथामका लागि शास्त्रमा विवाह, यज्ञ र मदिरा सुँघ्ने व्यवस्था गरिएको हो । मान्छेलाई दुव्र्यसनमा प्रवृत्त हुन कसैले सिकाउनुपर्दैन तर अनुशासनमा बस्न भने सधैँ सिकाइरहनुपर्छ । समाजमा परस्त्रीगमन वा व्यभिचारको दुष्प्रवृत्ति नफैलियोस् भनेर विवाहको व्यवस्था गरिएको हो । त्यसैगरी समाजमा सदैव जीवहिंसाद्वारा मांसभक्षण गर्ने दुष्प्रवृत्तिलाई मर्यादित बनाउनका लागि शास्त्रमा मांसभक्षणसम्बन्धी केही वैकल्पिक व्यवस्था गरिएको छ, जसलाई प्राचीन धर्मशास्त्रकारहरूले ‘परिसङ्ख्या’का रूपमा चर्चा गरेका छन् । ‘पञ्च पञ्चनखा भक्ष्याः’ अर्थात् पाँच नङ्ग्रा भएका खरायो दुम्सी, कछुवा, गोही र गैँडा पाँच भक्ष्य मानिन्छन् भने यसबाहेक अन्य पाँचनङ्ग्रे जीवजन्तु अभक्ष्य मानिन्छन् । त्यसमा बाख्रो र बाख्रामा पनि लामकाने सेतो बाख्रो ग्राह्य मानिएको छ । त्यो पनि सधैँ होइन वर्षभरमा वा जीवनभरमा फलानो दिन, फलानो मुहूर्तमा, फलानो विधिले, यस्तो धार्मिक अनुष्ठानमा र यति खर्च गरेका खण्डमा मात्र यज्ञमा पशु बध्य मानिन्छ भन्ने शास्त्रीय व्यवस्था रहेको हुँदा यसलाई मांसभक्षणका सन्दर्भमा ‘परिसङ्ख्या’ भनिएको हो । वास्तवमा यहाँ परिसङ्ख्याको आशय मांसभक्षणको क्रमलाई क्रमशः न्यून गर्दै अन्तमा मांसभक्षणबाट छुटकारा दिलाउनु हो । आफूखुसी बजारबाट ल्याएर वा गाउँघरमा पशुको हिंसा गरेर मांसभक्षण गर्न शास्त्रले छुट दिएको छैन र यज्ञमा अर्पण गरेर प्रसादस्वरूप ग्रहण गर्ने मासुलाई पनि क्रमशः हटाउँदै जानुपर्छ भन्ने शास्त्रको उद्देश्य रहेको देखिन्छ । अश्वमेध आदि यज्ञमा पशुलाई तिमी मर्दैनौ, तिम्रो हिंसा पनि कसैले गर्दैन र तिमी सरल मार्गबाट देवतासम्म पुग्दछौ वा देवत्वलाई प्राप्त गर्दछौ (ऋग्वेद १।१६२।२१) भन्ने आश्वासन दिइएको हुन्थ्यो । पशुयोनिबाट मुक्त गरेर पशुलाई देवलोकमा पुऱ्याउने त्यस किसिमका यज्ञहरू हाल प्रचलनमा छैनन् र त्यस्ता यज्ञ गर्नका लागि योग्य ब्राह्मणको पनि वर्तमानमा अभाव छ । त्यसैले अश्वमेध आदि वेदविहित यज्ञमा हुने विधिपूर्वकको पशुहिंसालाई आधार बनाएर शास्त्रले मासु खाने छुट दिएको थियो भन्न सकिँदैन । मासुबारे व्यासको दृष्टिकोण: महर्षि व्यासले अठारवटै पुराणहरूमा मांसभक्षणका सन्दर्भमा प्रासङ्गिक चर्चा अवश्य पनि गरेका होलान् । उनले महाभारतको अनुशासन पर्वमा मासुबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । मासु नखानाले अहिंसा धर्मको पालना हुन्छ । मनले मासु खाने इच्छा गर्नु, वचनले मासु खाने उपदेश दिनु र प्रत्यक्ष रूपमा मासुको स्वाद लिनु यी तीन कारणलाई हिंसादोष मानिन्छ । सुन्दर रूप, पूर्णाङ्ग वा साङ्ग, पूर्ण आयु, उत्तम बुद्धि, सत्त्व, बल र स्मरणशक्ति प्राप्त गर्न चाहनेले हिंसा गर्नु हुँदैन । हिंसा नगर्ने र मासु नखाने व्यक्ति सबै प्राणीको मित्र ठहरिन्छ । मासु नखाने व्यक्ति जस्तोसुकै विकट ठाउँमा, डरलाग्दो वनमा, रातमा, चौबाटामा र सभासम्मेलनहरूमा जाँदा पनि निडर हुन्छ । मांसभक्षण नगर्नाले सबै किसिमको सुख प्राप्त हुन सक्छ । मासु नखाई नछाड्नेहरूले पनि विशेषतः असोज महिनामा मासु नखाँदा आंशिक रूपमा भए पनि धर्म मिल्छ । मासु खान छाड्दा कीर्ति, आयु, यश र बलसमेत प्राप्त हुन्छ । संसारमा हामीलाई सबैभन्दा बढ्ता प्रिय लाग्ने भनेको आफ्नै प्राण हो भने पशुहरूलाई पनि आफ्नो प्राण अवश्य पनि सबैभन्दा प्रिय लाग्छ होला । तसर्थ मासुका लागि निरपराध पशुको प्राण नै लिएर पशुमाथि अन्याय गर्नु निश्चय नै राम्रो होइन भन्ने दृष्टिकोण व्यासले महाभारतमा व्यक्त गरेका छन् । मासुबारे मनुको दृष्टिकोण: मनुले मनुस्मृतिको पाँचौँ अध्यायमा भक्ष्य र अभक्ष्य विधानका सन्दर्भमा मासुका बारेमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । काँचो मासु खाने गिद्ध आदि, गाउँमा बस्ने परेवा आदि, एक खुर हुने पशु र तित्राको समेत मासु खान हुँदैन । गाउँको कुखुरो, सुगा, बकुल्लो, माछा र बाँदरको मासु पनि खान निषेध गरिएको छ । मन्त्रद्वारा संस्कार नगरिएको मासु कहिल्यै खान हुँदैन । यदि मासु खानै मन लाग्यो भने घिउ वा पीठाको पशु बनाएर खान सकिन्छ तर विनामन्त्र मासुका लागि पशुको हत्या गर्न हुँदैन । प्राणीको हिंसा नगरीकन मासु उपलब्ध नहुने र जीवहिंसाले स्वर्गको प्राप्ति पनि नहुने भएकाले मासु खान छाड्नुपर्छ भनिएको हो । मार्न अनुमति दिने, मार्ने, मासु काट्ने, मासु बेच्ने, मासु किन्ने, मासु पकाउने, मासु पस्किएर दिने र मासु खाने यी सबैलाई मनुले हिंस्रक मानेका छन् । प्रतिवर्ष अश्वमेध यज्ञ गर्ने र एक वर्षसम्म मासु नै नखाने दुवैका कर्मको पुण्य समान मानिएको छ । वास्तवमा मासु खानुमा, मदिरापान गर्नुमा र परस्त्रीगमन गर्नुमा दोष छैन किनभने यी सबै मान्छेका स्वाभाविक वा प्राकृतिक प्रवृत्ति हुन् र यिनबाट निवृत्त वा मुक्त हुनाले स्वर्ग आदि महान् फल प्राप्त हुन्छ भन्ने मनुको अन्तिम निष्कर्ष रहेको छ । प्रवृत्ति मार्गमा अग्रसर भएर यही सांसारिक जालामा सदैव फसिरहनुभन्दा निवृत्ति मार्गमा प्रवृत्त भएर मोक्ष प्राप्त गर्नु श्रेयस्कर छ भन्ने आशय नै मनुको पनि रहेको देखिन्छ । मासुबारे चाणक्यको दृष्टिकोण: नीतिकार चाणक्यले अन्य विषयजस्तै मासुका बारेमा पनि सङ्क्षिप्त दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले एकातिर मासुले मासु नै बढाउँछ (चाणक्यनीति १०।२० ) भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् भने अर्कातिर “नो दया मांसभोजिनः” (पूर्ववत् ११।५) अर्थात् मासु खानेहरूलाई दया हुँदैन भन्ने विचार व्यक्त गरेका छन् । मोटोपन धेरै रोगहरूको कारण बन्दै गएका सन्दर्भमा मासु खाएर शरीरमा मासुको मात्रा बढाउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । मासु नखानेहरू सबैमा दया हुन्छ भन्न सकिँदैन र मासु खाने सबैमा दया नै हुँदैन पनि भन्न सकिँदैन तापनि तुलनात्मक रूपमा मासु खानेहरूमा दयाको मात्रा कम हुन्छ । घरमा आफ्नै सन्तानजस्तै गरेर पालिएका बाखाबाख्रीका पाठापाठीलाई आफैले आफ्ना बालबच्चाहरूका अगाडि हिंसा गर्दा हाम्रा बालबच्चाहरूमा केकस्तो मनोवैज्ञानिक असर पर्दछ ? भन्ने कुरा पनि हामीले ख्याल गरेका हुँदैनौँ । दयालु बन्न र सबै प्राणीहरूमा प्रेम गर्नका लागि मासु खानु राम्रो होइन भन्ने आशयले नै चाणक्यले मासु खानेहरूलाई दया हुँदैन भन्ने विचार प्रस्तुत गरेको हुनुपर्छ । बैठान: मांसभक्षण गर्नु आसुरी प्रवृत्ति हो । पशुबलि दिएर राक्षसहरू खुसी होलान् तर देवीदेवताहरू खुसी हुँदैनन् । बलिप्रथाले हिंसाकै सन्देश फैलाउँछ तर शान्तिको शङ्खघोष गर्न सक्तैन । वर्तमान विश्वले हिंसा होइन शान्तिको कामना गरिरहेको छ । त्यसैले हामीले पनि आफूलाई ढिलोचाँडो हिंसाका विपक्षमा उभ्याउन जरुरी छ । त्यसका लागि मासु खाने प्रवृत्तिलाई हामीले क्रमशः निराकरण गर्दै जानु आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update