Erani Mahal
कोरोना भाइरस सङ्क्रमण हुँदा औँलामा देखिनसक्छ छालाको समस्या
wc_200427_chilblains_perniosis_toes_800x4501635151907
वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन् । “कोभिड टो“ नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो दाग देखा पर्छ । शरीरको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध लड्न आक्रामक रूप लिँदा त्यसको प्रभावस्वरूप कोभिड टो देखा पर्ने जनाइएको छ । अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणालीमा संलग्न कुन भागका कारण यस्तो असर देखिन्छ त्यसको किटान गरेका छन् । ब्रिटिश जर्नल अफ डर्माटोलजीमा उल्लिखित निष्कर्षहरूले यस्ता समस्याको उपचार गर्न सहयोग पु¥याउने अनुमान गरिएको छ । कोभिड टो जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्ने समस्या हो । तर त्यसले बालबालिका तथा किशोरकिशोरीलाई बढी प्रभावित गर्छ । कतिपयका लागि यस समस्या पीडारहित हुन्छ । तर कतिपय अवस्थामा भने छालामा देखिने डाबर अत्यधिक दुख्ने, चिलाउने, फोकाहरू आउने र सुजन हुन्छ । स्कटल्यान्डकी १३ वर्षीया सोफिया कोभिड टो पीडित हुन्। उनलाई हिँड्न र जुत्ता लगाउन समेत गाह्रो भएको थियो । गर्मी यामभरि उनले लामो यात्रा तय गर्न आफू कसरी ह्वीलचेअरको भर परेँ भन्नेबारे बीबीसीलाई बताएकी छन् । समस्या देखिएको सङ्क्रमित छालाको रङ्ग रातो वा बैजनी हुन सक्छ । केही मानिसमा दुख्ने डाबर वा छाला खस्रो हुने समस्या देखा पर्छ । त्यसमा पीप पनि जम्न सक्छ । मानिसहरूमा यस समस्या हप्तौँदेखि महिनौँसम्म रहन सक्छ । पीडितहरूमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद वा गन्धमा परिवर्तनजस्ता कोभिड–१९ का लक्षणहरू नदेखिन सक्छन् । रगत र छालामा गरिएको परीक्षणमा आधारित पछिल्ला अध्ययनका निष्कर्षहरूले प्रतिरक्षा प्रणालीको दुई भाग जिम्मेवार हुनसक्ने जनाएको छ । दुवै भाग मानिसको शरीरले कोरोनाभाइरसविरुद्ध लड्ने संयन्त्र अन्तर्गत पर्छन् । तीमध्ये एक टाइप–१ इन्टर्फेरोन भनिने एन्टिभाइरल प्रोटीन हो । अर्को चाहिँ एन्टिबडी हो जसले झुक्किएर भाइरसको साटो शरीरका कोशिका र तन्तुहरूलाई आक्रमण गर्छ । यूनिभर्सिटी अफ प्यारिस, फ्रान्सका अनुसन्धानकर्ताहरूका अनुसार सङ्क्रमित स्थानमा रक्तसञ्चार गर्ने रक्तनलीको सतहमा भएका कोशिकाहरू पनि संलग्न हुन्छन् । अनुसन्धानमा सन् २०२० मा कोभिड टो भएको आशङ्का गरिएका ५० जना सहभागी थिए । तीबाहेक १३ अन्यमा छाला चिलाउने र सुन्निने लक्षण भएका मानिस समाविष्ट थिए । उनीहरूमा भने कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखिएको थिएन । उनीहरूलाई यस्तो समस्या कोभिड–१९ महामारीअगावै देखिएको थियो । अनुसन्धानकर्ताहरूले निष्कर्षले बिरामी र चिकित्सकहरूलाई उक्त अवस्थाबारे बुझ्न सहयोग गर्ने विश्वास गरेका छन् । ब्रिटिश पोडियाट्रिस्ट (खुट्टा, पैताला र गोल गाँठोको भाग हेर्ने चिकित्सक) डा. इभान ब्रिस्टोले भनेङ “धेरै बिरामीको हकमा छाला चिलाउने र सुन्निने समस्या प्रायः जाडो महिनामा र रक्त सञ्चालनमा समस्या भएका मानिसमा देखिन्छ । छालाको प्रभावित भाग समय क्रममा आफैँ ठिक हुन्छ ।“ केही मानिसलाई मल्हम र औषधिसहित उपचार आवश्यक पर्छ । “यस समस्याको कारण पुष्टि हुनाले प्रभावकारी नयाँ उपचार पद्धतिको विकासमा सहयोग पु¥याउँछ,” उनले भने । ब्रिटिश स्किन फाउन्डेशनकी प्रवक्ता एवं सल्लाहकार चर्मरोग विशेषज्ञ डा. फेरोनिक बाटाईका अनुसार कोभिड टो महामारीको प्रारम्भिक चरणमा बारम्बार देखा परेको थियो । डेल्टा भेरिअन्टको लहरमा भने कम देखिएको उनले बताइन् । अधिकांश मानिसले खोप लगाएका कारण उक्त सङ्ख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ । “खोपपश्चात् कोभिड टो कम देखिएको छ,” उनले भनिन्। कोभिडका कारण हुने छालाका समस्याहरू गम्भीर सङ्क्रमणपछि देखिन सक्छन् । साथै लक्षणरहित सङ्क्रमितहरूमा पनि केही समयपश्चात् यस्तो समस्या देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update