Erani Mahal
तानसेनका दुध डेरी र मिठाइ पसलमा अनुगमन : अखाद्य पदार्थ बिक्री भएकाे आशंका
248366623_839814936697419_2461258201000069260_n
तानसेन – तानसेनका दुधडेरी तथा मिठाई पसलले चरम लापरबाही गरेको भेटिएको छ । सोमबार जिल्लास्थित अनुगमन समितिले गरेको अनुगमनका क्रममा तानसेनका दुधडेरी तथा मिठाई पसलले मापदण्ड बिपरीतका बस्तु बिक्री गरेको फेला परेको हो । अनुगमनका क्रममा तानसेनको बसपार्कमा रहेको डायमण्ड बेकरिजमा धेरै लापरवाही देखिएको अनुगमन टोलीको ठहर छ । डायमण्डमा किचनमा फोहोर रहेको, एउटै तेल धेरै पटक प्रयोग गरेको, सामग्रीहरूको सरसफाइमा ध्यान नदिएको तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएको पाइएको थियो । यो सहित तानसेनका अधिकांश मिठाई पसलमा समस्या देखिएको र मापदण्ड पूरा नगरेको पाइएको छ । अनुगमन पछि अखाद्य बस्तु मिसाइएको आशंकामा तानसेनको श्रीनगर डेरीको दूध तथा मिठाइ, डायमण्डको मिठाइ र गोरसघरको दूध थप परीक्षणका लागि भैरहवा पठाइएको छ । अनुगमन टोलीले डायमण्ड होटलमा लामो समयदेखि प्रयोगमा रहेको झण्डै १२ लिटर तेल समेत नष्ट गरेको छ । चाडपर्वको समयमा दूध, मिठाइ तथा अन्य पसलहरूमा निरन्तर अनुगमन गरिने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले बताउनुभयो । बजार अनुगमनबाट नौ वटा नमूना प्रयोगशाला परीक्षणका लागि भैरहवा पठाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो । तानसेनका मिठाइ तथा दूधको नमूना परीक्षणका लागि पठाइएको र केही दिनमा रिपोर्ट प्राप्त हुनासाथ कारबाहीको प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केही दुध पसलहरूमा मिश्रित दूध बिक्री गरेको आशंका रहेको बताउँदै ल्याब परीक्षणपछि थप अनुगमन गरिने बताउनुभयो । उहाँले कानुन विपरीतका कार्य भए कारबाही गरिने बताउनुभयो । पछिल्लो समय पाल्पामा बजार अनुगमनले तीव्रता पाएको छ । व्यापारीले उपभोक्ताको अधिकार कुण्ठित गर्ने गरी अखाद्य पदार्थ बिक्री गरेको, अचाक्ली मुल्य बृद्धि गरेको, म्याद गुज्रेको सामग्री बिक्री भएको गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिइएको सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update