Erani Mahal
पाल्पाली ढाकाकाे कपडा ब्राण्ड बन्दै
palpali dhakads
पाल्पा – पाल्पाली ढाकाको कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । विगत ७० वर्षदेखि पाल्पाबाट उत्पादित पाल्पाली ढाकाको कपडालाई ब्राण्ड दिएर बजारमा ल्याउने तयारी ढाका व्यवसायीले गरेका छन् । पाल्पाली ढाका सङ्घले वर्षअघि देखि निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी एक गरिरहेको छ । ढाकाको कपडाले ब्राण्डको मान्यता पाउन आवश्यक अधिकांश मापदण्ड पूरा गरिसकेको सङ्घका सचिव मनोज पौड्यालले बताउनुभयो । अब छिट्टै पाल्पाली ढाकाको कपडा ब्राण्डसहित बजारमा ल्याउन लागेका छौँ पौड्यालले भन्नुभयो । सङ्घले हाते तानबाट ढाका बनाउन दुई सय महिला कामदारलाई तालिम दिएको छ । यस्तै उनीहरूलाई विभिन्न डिजाइनका ढाका उत्पादन गर्न सिकाइएको छ । हालसम्म तालिम लिएका जनशक्तिले ढाका कारखानामै काम गरिरहेको सङ्घले जनाएको छ । पाल्पाली ढाकालाई ब्राण्ड बनाउँदै सङ्घले तालिमप्राप्त जनशक्ति उत्पादन गर्ने, कारखानामा काम गर्ने मजदुरलाई उचित पारिश्रमिक दिने लगायतको काम गरिसकेको छ । यस्तै निश्चित लगानी, कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी, उद्योगको भौतिक अवस्था समेत सुधार भईरहेको सचिव पौड्यालले बताउनुभयो । विगत सात दशकको अबधिमा पाल्पाली ढाकाको कपडाले आफ्नै पहिचान कायम गरिसकेको छ । जिल्लासहित जिल्लाबाहिर समेत पाल्पाली ढाकाका कपडाले आफ्नै पहिचान कायम गरिसकेको अवस्थामा ब्राण्ड बनाएर बजार ल्याउने तयारी भईरहेको सङ्घकी अध्यक्ष एवं ढाकाका पुराना व्यवसायी पूर्णमाया महर्जनले भन्नुभयो । ब्राण्डको रुपमा बजारमा ल्याएपछि ढाकाका कपडाले उचित मुल्य पाउने र स्वदेश तथा विदेशमा समेत ढाकाका कपडा निर्यात हुने अवस्था आउने विस्वास गरिएको उहाँले बताउनुभयो । पाल्पामा हालसम्म दश वटा ढाकाका कपडा उत्पादन गर्ने उद्योग सङ्घमा आबद्ध भएका छन् । त्यसभित्र हाल तीन सय बढी कामदारले ढाकाको कपडा बुन्ने काम गरिरहेको सङ्घले जनाएको छ । यस्तै ढाकाका कपडाबाट विभिन्न सजावटमा सामान र तयारी कपडा बनाउने काममा समेत थप एक सय कामदारले काम गरिरहेका छन् । एक वर्षअघिसम्म दक्ष कामदारको अभावमा र नक्कली ढाकाको व्यापारबाट धरासायी बनेको पाल्पाली ढाकाको बजार अहिले पुन सुधार भएको छ । पाल्पाली ढाकाको उत्पादनमा सुधार ल्याउन तानसेन नगरपालिका, प्रदेश सरकार र युकेआइडी (सीप) परियोजनाले सहयोग गरेको छ । बजारमा अहिले पनि पाल्पाली ढाकाको माग उच्च छ । ढाकाको बजारलाई व्यवसायिक र ढाकाका सामग्रीमा विविधिकरण गर्न नसक्दा पाल्पाली ढाका उत्पादनमा समस्या आएको थियो । पहिले पाल्पाली ढाकाबाट चोली र टोपी मात्रै बन्ने गरेकोमा अबदेखि भने कोट, टाइ, ब्याग, साडी, पछ्यौरी, पर्स, मास्क, घरको पर्दा लगायतका सामग्री बनाउने काम सुरु भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । पाल्पाली ढाकालाई स्वदेश तथा विदेशमा पु¥याउन सके यसबाट सयौँ कामदारलाई रोजगारी र स्वदेशी उद्योगले नाफा आर्जन गर्न सक्ने शाहीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update