Erani Mahal
गीतले सम्झाइदिएको मरौटी
246193399_2950616341920970_4731600036278214995_n
युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउन मन लागेको हाेला । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ । गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उचालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन हप्तामै ५० लाख भ्युज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ? स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको पञ्चाङ्ग (जरा, डाँठ, पात, फल र फूल) आयुर्वेदिक औषधिमा प्रयोग हुन्छ । मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उहाँले सुनाउनुभयो ।'मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ', सापकोटाले भन्नुभयो,'महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।' खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने उहाँको भनाइ छ । श्वाससप्रश्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने सापकोटाले बताउनुभयो । घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ । सामुदायिक वन उपभोक्ता महासङ्घ बाग्लुङका अध्यक्ष राज थापाले मरौटी बहुउपयोगी वनस्पति भएको बताउनुभयो ।'औषधि र मसलाजन्य दुवै गुण मरौटीमा पाइन्छ', उहाँले भन्नुभयो,'खाना स्वादिष्ट बनाउन भान्सामा पनि यसको प्रयोग हुन्छ ।' अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ । झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात/जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन् । व्यावसायिक खेती नभएकाले ग्रामीण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको थापाको भनाइ छ । उहाँले जङ्गलमा पाइने मरौटीलाई ‘वन मरौटी’ भन्ने गरिएको बताउनुभयो । त्यो घरमा हुनेभन्दा केही मसिनो हुन्छ । आयुर्वेदीय गुण भने त्यसमा पनि उत्तिकै हुन्छ । मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ । मरौटीको व्यावसायिक खेती गर्न सके किसानको आयआर्जन बढ्ने धनवन्तरी स्वास्थ्य सहकारी संस्था लिका अध्यक्ष सापकोटाले बताउनुभयो । खोजी र संरक्षण नभए मरौटी लोप भएर जाने खतरा रहेको उहाँको भनाइ छ । गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update