Erani Mahal
व्यावसायिक हितको लागि कसैको ध्यान पुगेन : शर्मा
247291835_305366004405009_3631939012991177332_n
पाल्पा- नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकारले उद्योगी व्यवसायीलाई कर र विभिन्न नाममा दुःख दिने गरेको बताउँदै उद्योगी व्यवसायीको हित, आर्थिक विकासमा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । सरकारले उद्योगीलाई कर र मानसिक त्रास सिर्जना गरेकाले उद्योगी व्यवसायीहरु पलायन हुँदै गएको बताउनुभयो । पाल्पा उद्योग वाणिज्य संघ पाल्पाको ६६ औँ साधारणसभाका प्रमुख अतिथि रहनुभएका उहाँले अरबौंको नीजि क्षेत्रको लगानीको संरक्षणमा राजनीतिक दल र तीन तहका सरकार उदासिन बन्दै गएको बताउनुभयो । राज्यले तीन खम्बे अथनीति लिने भन्ने तर नीजि क्षेत्रलाई त्रसित पार्ने काम बन्द गर्न आग्रह गर्नुभयो । शर्माले कोभिड समस्या, बैंकहरुको चर्को व्याज लगायतको उद्योगीको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले व्यवसायीले सामाजिक उत्तरदायित्व सहितको व्यापार गर्नुपर्छ भन्दै सरकारले समेत त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । सरकारले करका लागि मात्र रिमाइन्ड सूचना हाल्ने गरेको तर राज्यबाट अन्य सेवा सुबिधा पाउने कुराको सूचना किन हाल्न सक्दैन ? उहाँले प्रश्न गर्नुभयो, व्यापारीलाई/व्यसायीले राज्यका लागि ठूलो योगदान गरेको भए पनि सोही अनुसारको सम्मान पाउन नसकेको भन्दै कुनै पनि दलको त्यसतर्फ ध्यान जान नसकेको बताउनुभयो । विकासका लागि सबै एकीकृत रूपमा अगाडि बढ्नुपर्छ, व्यवसायी, नीजि क्षेत्र, राजनीतिक दल र सरकार मिलेर मात्रै विकास र आर्थिक समृद्धिका लागि साझा सहकार्य गर्न सकिने बताउँदै शर्माले त्यसतर्फ सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । संघका अध्यक्ष राजु महर्जनले शिक्षा स्वास्थ्य र पर्यटनको नारा बोकेको पाल्पाको विकासमा संघको योगदान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले पाल्पाको विकासमा निर्माणाधिन बहुउद्देश्यीय भवन अलपत्र रहेको अवस्थामा कसैले सहयोग नगरेको बताउनुभयो । उहाँले उद्योगीको समस्या समाधानको लागि संघले सदैव साथमा रहेर काम गर्ने बताउनुभयो । कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष हरी रायमाझी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, नेकपा (एकिकृत समाजवादी) का सचिव मोहनलाल गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी लगायतले जिल्लाको आर्थिक सामाजिक विकासमा संघसंग हातेमालो गरेर अगाडि बढ्ने बताउँदै व्यवसायिक र आर्थिक विकासमा संघलाई शुभकामना दिनुभयो । उहाँहरुले संघको विगतको इतिहास कायम गर्न सुझाव दिदैं पाल्पाको व्यवसायिक पहिचान जोगाउन आग्रह गर्नुभयो । निर्वतमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले स्थानीय सरकार आएपछि सौताको जस्तो व्यवहार भएकोले उद्योगीहरु मारमा परेको बताउनुभयो । उहाँले सबै सरकारसँग आफूहरू सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा कोभिडको समयमा जनताको सेवा गरेका संघका वाणिज्य उपाध्यक्ष यादव सिंह कार्कीलाई सम्मान गरिएको थियो । साधारण सभाले संघका महासचिव शैलेन्द्र भट्टराईको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजिव श्रेष्ठको लेखा प्रतिवेदन समेत पारित गरेको छ । संघका अध्यक्ष राजु मर्हजनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव शैलेन्द्र भट्टराईले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update