Erani Mahal
पाल्पामा दशैँकाे नवदुर्गादेखि बज्ने मालश्री बज्न छाड्याे
sarnagi bajaudai1634183962
पाल्पा - दशैंको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन नसक्दा संकटमा परेको हो । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ । तानसेन नगरापालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्षकाे हुनुभयाे । मालश्री गीत गाउन पहिला रातिको तीन बजे नै जाने चलन थियो उहाँले सम्झनुभयाे । मालश्री गीत गाउने युवा प्रशस्त हुने भएपनि अहिले कोही पनि नभएकाले गन्धर्वको मन खिन्न छ । पहिला जस्तो सारङ्गी बजाउने विशेष रुचि नहुँदा दशैंमा मालश्री र अन्य समय सारङ्गी बजाइ गीत गाउने चलन हराएको हो । उमेर जति पाको भयो, सारङ्गी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन । अहिले सारङ्गीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुनुहुन्छ । गन्धर्व जातिमाथि अपमान र छुवाछुतकै कारण युवा पुस्ता यो पेशाबाट विस्थापित भएका छन् । युवा पुस्ता सारङ्गी बजाउने पेशामा आकर्षित हुन सकेको छैन । सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ । गन्धर्व जातिको बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेशा संकटमा परेको हो । नेपाली मौलिक लोकबाजा र लोक संस्कृतिको झल्को सारङ्गी रेटेर गीत गाउँदा आउने गर्छ । गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, तर गन्धर्व जातिले गीत गाउँदा जीवीकोपार्जनमा समस्या हुनाले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्व अध्यक्ष दिनेश गन्धर्वले बताउनुभयाे । तानसेन नगरपालिका सहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोबास छ । गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update