Erani Mahal
पाल्पाका ठूला दुई अस्पतालद्वारा ‘आमा सुरक्षा कार्यक्रम’ संचालन गर्न अटेर
lmc-mission
तानसेन – पाल्पाका दुई ठूला अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न आनाकानी गर्दा सेवाग्रहीले चर्को मुल्य तिरेर सुत्केरी सेवा लिनुपर्ने बाध्यता बनेको छ । विगत दुई वर्षदेखि पाल्पाको लुम्विनी मेडिकल कलेज र मिसन अस्पतालले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न आनाकानी गर्दै आएका छन् । यसले गर्दा पाल्पा सहित अन्य जिल्लाका सुत्केरी महिलाले सहुलियतमा सेवा लिन पाएका छैनन् । लुम्विनी मेडिकल कलेज र मिसन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न आनाकानी गर्दै आएको सरकारी कार्यालयको भनाई छ । तानसेन नगरपालिकाले लुम्विनी मेडिकल कलेज र मिसन अस्पताललाई आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेपनि यी दुई अस्पतालले यो कार्यक्रम सञ्चालन गर्न नसक्ने नगरपालिकालाई जानकारी गराएका छन् । ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरे अस्पतालले सुत्केरीलाई निशुल्क सेवा दिनुपर्ने हुन्छ । त्यसका लागि सरकारले एक जना सुत्केरीलाई सामान्य सेवा दिएवापत १५ सय रुपियाँ अस्पताललाई भुक्तानी गर्दै आएको छ । यस्तै जटिल समस्या भए र थप ३ हजार र शल्यक्रिया गर्नुपरे थप ७ हजार रुपियाँ दिने प्रावधान छ । तर पाल्पाका यी दुबै अस्पतालहरुले यो रकम न्युन भएको बताउँदै आएका छन् । पाल्पाका यी दुई ठूला निजी अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न अटेर गर्दै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । ‘मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजलाई कार्यक्रम सञ्चालन गर्न पत्राचार ग¥यौँ तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले भन्नुभयो तर अस्पतालबाट सकारात्मक जवाफ आएन ।’ ‘आमा सुरक्षा कार्यक्रम’का लागि नेपाल सरकारबाट गत आव २०७७/०७८ मा दुई करोड रकम आएपनि उक्त रकम फिर्ता भएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि नै पाल्पाका दुई ठूला अस्पतालले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नमानेको नगरपालिकाको भनाई छ । पछिल्लो समय अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या बढेपनि आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरीले सेवा लिएवापत अस्पताललाई चर्को मुल्य तिर्नुपर्ने बाध्यता रहेको छ । घरमा सुत्केरी हुँदा असुरक्षित हुने भएकाले अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या बढेको छ, स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले भन्नुभयो तर सुत्केरीले सर्वसुलभ सेवा पाएका छैनन् ।’ आमा सुरक्षा कार्यक्रम’वापतकाे रकम समय सापेक्ष भएन : मिसन अस्पताल पाल्पाका ठूला अस्पतालले भने ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरेवापत सरकारले दिने रकम समयसापेक्ष नभएको बताएका छन् । आमा सुरक्षा कार्यक्रमको रकम कम पनि हो तानसेनस्थित मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले भन्नुभयो उक्त रकमले संस्थाले नियमित सेवा दिन समस्या हुन्छ ।’ उक्त कार्यक्रम सञ्चालन गरेर संस्था नै रन हुन नसक्ने अवस्था भएकाले नगरपालिकालाई सोही अनुसार जानकारी गराएको भट्टराईले बताउनुभयो । एउटै कार्यक्रमलाइ सरकारी पक्षबाट दुइ मापदण्ड : लुमेक स्वास्थ्य विमा कार्यक्रमबाट सुत्केरीलाई सोही सेवा दिए अस्पतालले दोब्बर बढी भुक्तानी पाउँदै आएका छन् । यसले पनि आमा सुरक्षा कार्यक्रम संचालन गर्न नसकेको लुम्विनी मेडिकल कलेज प्रभासले जनाएको छ । लुम्विनी मेडिकल कलेजले विगत २०६७ देखि ७७ सालसम्म आमासुरक्षा कार्यक्रम संचालन गरेपनि हालको अवस्थामा पुरानै मुल्यमा सुत्केरीलाई सेवा दिन सक्ने अवस्था नरहेको लुम्विनी मेडिकल कलेज प्रभासका निर्देशक सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सरकारी पक्षबाट एउटै कार्यका लागि दाेहाेर मापदण्ड तयार गरेकाे र हाल उक्त कार्यक्रममा विभिन्न खालकाे कर लिएकाले याे कार्यक्रम संचालन गर्न सरकारी पक्षबाट नै हताेत्साही गरेकाे बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update