Erani Mahal
तानसेनको दशैँघरमा फूलपाती भित्र्याइयो
pull pati palpa
पाल्पा – बडा दशैँको सातौँ दिन सप्तमीको दिन पाल्पाको तानसेनस्थित दशैँघरमा फूलपाती भित्र्याइएको छ । तानसेनको सिल्खानटोलमा रहेको दशैँ घरमा नेपाली सेना सहितको टोलीले फूलपाती भित्र्याएको हो । फूलपातीको रुपमा केराको पात, अदुवा, दारिम, बयर, फूललाई दशैँघरमा भित्र्याउने परम्परा रहेको छ । दुई सय वर्षअघि पाल्पामा तैनाथ तत्कालिन जनरल कर्णेल उजीरसिंह थापाले दशैँघरमा फूलपाती भित्र्याउने परम्पराको सुरुवात गर्नुभएको थियो । सोही परम्परा अनुसार दशैँ घरमा फूलपाती भित्र्याइएको नेपाली सेनाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैँघरमा रहेको कोतघरमा भगवती मन्दिरबाट सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा रहेको छ । घटस्थापनादेखि सिलेखाना (हतियार खाना) परिसरमा रहेको कोतघरमा दैनिक सैनिक सलामी सहित पूजाआजा गरिन्छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको गोरख दल गण नागपोखरी व्यारेक गएका थिए । यस्तै पाल्पाका विभिन्न शक्तिपीठहरूमा मङ्गलबार बिहानैदेखि पूजाआजा सुरू भएको छ । पाल्पाको भैरवस्थान, भगवती मन्दिर, जिल्लाका विभिन्न स्थानमा रहेका कोटघर, थुम्कामा बली दिने, भाकल गर्ने क्रम सुरू भएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update