Erani Mahal
रोकालाई गाउँमै सम्मान
245047436_241472244613980_1451999443632671909_n
पाल्पा–विश्व ग्रामीण क्षेत्रमा काम गर्ने महिलाको रुपमा नेपालबाट छनोट हुनु भएका दिल कुमारी रोका मगर (जानुका) लाई सम्मान गरिएको छ । रोका मगरलाई लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री कुल प्रसाद केसीले सम्मान गर्नु भएको हो । सो अवसरमा मुख्य मन्त्री केसीले रोकाले प्राप्त गर्नुभएको पुरस्कारले प्रदेशकै गौरवको कुरा भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा सामाजिक काममा सक्रिय भएर विश्वकै उत्कृष्ट महिला बन्नुभएकोमा बधाई दिदै उहाँले उहाँ जस्तै अन्य महिलाहरु पनि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले विपन्न, दुर्गम क्षेत्रका महिलाका लागि रोका प्रेरणाको आदर्श महिला बनेको बताउनुभयो । उहाँले अब डिल कुमारी आफ्नो श्रीमानको पहिचानबाट भन्दा आफ्नै पहिचानबाट स्थापित भएको उल्लेख गर्नुभयो । दश वर्षको जनयुद्धमा लागेका धेरै कार्यकर्ताहरुले पार्टी र नेतृत्वप्रति गुनासा मात्रै राख्ने गरेको तर रोकाले शान्ति प्रक्रियापछि पनि आफ्नै पौरखमा उदाहरणीय बन्न सकेको सभामुख घर्तीको भनाई छ । कार्यक्रममा वातावरण विद् डा.नारायण श्रेष्ठले पुरस्कार विजेता रोका केवल युद्ध लडेकी महिला मात्र नभएर महिला आफ्नै पौरखमा अघि बढनुपर्छ भन्ने मान्यता राख्ने र सोही अनुसार सक्रिय रहेको बताउनुभयो । सोही कार्यक्रममा पुरस्कार विजेता रोकाले आफूले जितेको पुरस्कारमा आफ्नो मात्र होईन सिंगो उत्पीडित महिलाहरुको हक रहेको बताउनुभयो । उहाँले अवार्ड (पुरस्कार) ले आगामी दिनमा दिनमा अर्को सामाजिक रुपमा महिला सहित पछि परेका समुदायको पक्षमा अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका युवा नेता पे्रम श्रेष्ठ, अधिवक्ता महेन्द्र पाण्डेय,सामाजिक स्रोत विकास केन्द्र,नेपाल पाल्पाका निर्देशक चोपलाल गिरी लगायतले बधाई तथा शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रको आयोजना वन समन्वय समिति,तिनाउले आयोजना गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update