Erani Mahal
चाडपर्वमा रामपुर बजार अनुगमन
244705002_604618730673350_3882327581753974346_n
पाल्पा–चाडपर्वको मुखैमा गरिएको रामपुर बजार अनुगमनका क्रममा अनुगमन टोलीले बिभिन्न पसलहरुबाट सडेगलेका, म्याद गएका अखाद्य बस्तु जफत गरि नष्ट गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा रामपुरको मुख्य बजार बेझाँड बजार क्षेत्रका बिभिन्न १६ पसलमा अनुगमन गरेको थियो । रामपुर क्षेत्रका सरोकारवाला निकाय इलाका प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ रामपुर, इलाका प्रहरी कार्यालय र पत्रकारहरुसँगको समन्वयमा गरेको बजार अनुगमनका क्रममा धेरै पसलमा मुल्य सुची नै नराखिएको, खाद्य बस्तु र अन्य उपभोग बस्तु एकै ठाउँमा राखिएको, लेवल नभएका सामाग्री बेचबिखन धेरै भेटिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराज भण्डारीले जानकारी दिनुभयो । व्यवसायीहरुलाई आफैले प्याकिङ गरेका लेवल नभएका सामाग्री नबेच्न, म्याद नाघेका सामाग्री विक्री वितरण नगर्न, म्याद गएको भए पसल र गोदाममै नराख्न, पसलको दर्ता अनुसारका मात्र सामाग्री बेच्न र मुल्य सूची अनिवार्य राख्न निर्देशन दिईएको भण्डारीले बताउनुभयो । चाडपर्वको समयमा व्यापारीले धेरै सामान ल्याउने सो बेला म्याद गएका सामान, तौल कम तर बढी मुल्यमा सामान बिक्री हुने र यसले सिधै नागरिकको स्वास्थ्यमा असर र सर्वसाधारण ठगिनुपर्ने स्थितिलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो । खाद्यान्न र किराना पसलमा अनुगमन गरियो घिमिरेले भन्नुभयो–म्याद गएका पेय पदार्थ स्प्राइड, कोक र खाद्य बस्तु, अन्तशुल्क नलिई बिक्री भइरहेका सुर्तीजन्य पदार्थ, बिना लेवलका र तोकेको भन्दा कम तौलका प्याकिङ खाद्य सामाग्री धेरै भेटियो, यसले सिधै उपभोत्तामा असर पारेको छ । अनुगमनमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले रामपुर नगरपालिकाले समय–समयमा बजार अनुगमन गरिरहेको बताउनुभयो । उहाँले नियम र प्रक्रिया पु¥याएर दर्ता गरेर मात्र व्यवसाय गर्न व्यवसायीलाई सुझाइएको र केही पसलमा पटक पटक सुधार गर्न भनेपनि कन्जुस्याई भेटिएको समेत बताउनुभयो । उहाँले दर्ता गरेका कागजपत्र पसलमा देखिने गरि टासेर राख्न र नियमित नविकरण गरि नियम संगत रहेर ढुक्क गरि व्यवसाय गर्न व्यवसायीलाई अनुरोध गर्नुभयो । अनुगमन टोलीमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्याल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्र्की,रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, रामपुर नगरपालिका वडा नं.५ का वडाध्यक्ष हिमाल मल्ल, वडा नं. ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने, कार्यपालिका सदस्य सावित्रा गौतमको सहभागीता रहेको थियोे । टोलीले स्प्राइट कोक, सुर्ती, बिस्कुट, मेन्ट फ्रेस, सुजी, मिठाई, चिउरा, तिल लगायतका १६ हजार २ सय ९५ रुपँया बराबरका सामान जफतपछि रामपुर नगरपालिका कार्यालय परिषरमा नष्ट गरेको छ । चाडपर्वलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका मुख्य बजार अनुगमनलाई तिव्रता दिएको हो । यसअघि कार्यालयले तानसेन बजार अनुगमन गरेको थियो । जिल्लाका अन्य बजार क्षेत्रमा पनि बजार अनुगमनलाई निरन्तरता दिने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update