Erani Mahal
दसैंमा के खाने, कसरी खाने ?
maxresdefault
दसैं भन्ने वित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आम बुझाइ छ । त्यसैले दशैंंमा आ–आफ्नो गच्छे अनुसार सबैका घरमा नयाँ लुगा लगाउने र मिठो परिकार पाक्ने गर्छ । दशैंमा सबैभन्दा बढी खपत मासु कै हुन्छ । हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा अधिकाश नेपालीको भान्सामा मासु पाक्छ । अत्यधिक मरमसाला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ । दसंैमा १० पटक खानु पर्छ भन्ने मान्यता छ, त्यसैले अन्य बेलामा भन्दा बढी खानेकुरा पाक्छन् । दसैंमा मासुका विभिन्न परिकार बनाई बिहान, दिउँसो र साँझ मुख्य परिकारका रुपमा खाने प्रचलन छ । स्न्याक्समा पनि मासुकै प्रयोग बढी हुन्छ । दसैंका बखत कार्यालयका साथै शिक्षण संस्थाहरु पनि बन्द हुने भएकाले सबै फुर्सदमा हुन्छन् । दसैंमा घरमै बसी परिवारका साथमा होस् या साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै जुवातास खेल्ने, टिभी हेर्ने, साथी जम्मा भएर गफ गरेर समय बिताउँने चलन छ । शारीरिक कसरत कम हुने र खाना पनि चिल्लो र मसालायुक्त हुन्छ, जसले गर्दा मोटोपन बढाउने र दीर्घ रोगीहरुलाई रोग बल्झने सम्भावना प्रवल हुन्छ । मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ । साथै निरोगी मानिस पनि आफ्नो वजन बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने गर्छन् चाडबाड सकिनासाथ दसैंमा अत्यधिक रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन् । यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो । चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन । दसैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ । त्यसो भयो भने कुनै समस्या हुँदैन । सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ ।जस्तैः –एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ । यसरी खाना खाएमा निरोगी हुन मद्दत गर्छ । –१० पटक खाने भनेर जति बेला पनि मासु खानैपर्छ भन्ने मान्यता गलत हो। फलफूल, सलाद, भटमास साँदेर पनि खान सकिन्छ । –आफ्नो शरीरले मागेको जति खानेकुरा खाएर पनि चाडबाड मनाउन सकिन्छ । –चाडबाडमा मासुसँगै मौसमी फलफूल र सागसब्जीलाई भान्सामा समावेश गर्न सकियो भने मासु राम्रोसँग पचाउन मद्दत गर्छ र रोगबाट बच्न सकिन्छ । –खानामा दैनिक रुपमा फलफूल समावेश गर्न सकियो भने भिटामिन र मिनिरल प्रशस्त मात्रामा पाउन सकिन्छ । –मासुलाई उसिनेर राम्रोसँग छाला निकालेर थौरै तेलमा पकाएर खानु स्वास्थ्यकर हुन्छ । दसैंमा खानाका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । –दैनिक आधा घन्टा आफ्नो लागि समय निकालेर शारीरिक कसरत गर्नाले रोग नियन्त्रण हुनुका साथै खाना पच्न मद्दत गर्छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update