Erani Mahal
युद्ध लडेकी दिलकुमारीलाइ अन्तराष्ट्रिय पुरस्कार !
thumb
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा पर्नुभएकाे छ । उहाँले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गर्नुभएकाे हाे । “च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुशी लागेको छ”, दिलकुमारीले भन्नुभयाे । उहाँ साहसी र अग्रणी सिर्जनशील महिलाका रुपमा छनोटमा पर्नुभएकाे हाे । रोल्पाको दुर्गम थवाङ गाउँपालिकाको उवामा जन्मेकी उनी कपिलवस्तुको शिवपुर हुँदै पाल्पाको तिनाउ, झुम्सामा आएर बस्नुभएकाे हाे । सशस्त्र द्वन्द्वका बेला हतियार बाेकेर युद्ध गर्नुभएकाे उहाँले शान्ति सम्झौतापछि भने दोभानको भूतखोलामा कृषि कर्मसँगै बसाेवास गर्नुभएकाे छ । ‘शान्ति सम्झौतापछि हाम्रो जीवन दुःखद थियो,’ उहाँले भन्नुभयाे, ‘तीन छोराछोरी थिए । केही काम गर्नुपर्छ भन्ने भयो । त्यसपछि च्याउ उत्पादन गर्ने सीपले नयाँ जीवन दिएको छ ।’ सशस्त्र द्वन्द्वमा बन्दुक बोक्दाको साहस बिसाउँदा कम्ती पीडा थिएन । दिलकुमारीले २०४५ सालमा तुलाराम घर्तीसँग बिहे गर्नुभएकाे हाे  । १७ वर्षमा विवाह गर्नुभएकी दिलकुमारीकाे तीन सन्तान छन् । डब्लुडब्लुएसएफले हरेक वर्ष ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने विश्वभरका दश महिलालाई सम्मान गर्दै आएको छ । उहाँलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । “हामीजस्ता महिलाले गरेको मिहिनेत, काम र सङ्घर्षको मूल्याङ्कन हुँदा व्यवसायमा जोस, जाँगर थपिएको छ, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु नै मेरो लागि जीवनको ठूलो सफलता हो,” उहाँले भन्नुभयाे । विगत एक दशकदेखि यस व्यवसायमा आबद्ध दिलकुमारीले व्यवसायलाई थप गर्दै जाने बताउनुहुन्छ । गत साउनदेखि स्थायी संरचना तयार पारी व्यवस्थित तरिकाले खेती गर्ने उद्देश्यका साथ उहाँ लाग्नुभएकाे छ । “बाह्रै महिना खाली नहुने गरी उत्पादन गर्न स्थायी संरचना तयार पार्दैछु, च्याउ खेतीले आयस्रोत राम्रो बनेको छ भने देश तथा विदेशमा पनि मलाई चिनाएको छ, अब व्यवसायलाई विस्तार गर्दै जाने हो,” उहाँले भन्नुभयाे । उहाँले फार्ममा हाल एक हजार सात सय बल्ब च्याउ छन् । एक दशकअघि दुई सय बल्बबाट व्यवसाय थालनी गर्नुभएकी दिलकुमारीलाई हाल च्याउ खेतीले दाम मात्र होइन राम्रो पहिचान बनाइदिएको छ । गत वर्ष च्याउ बिक्रीबाट रु सात लाख आम्दानी गरेकी उनले यस वर्ष करिब नौ लाखसम्म कमाई गर्ने लक्ष्य लिनुभएकाे छ । धेरै उत्पादन हुँदा दैनिक एक क्विन्टलसम्म च्याउ घरबाटै बिक्री गर्ने दिलकुमारीले सिद्धार्थ राजमार्गमा व्यवसाय भएकाले पनि बिक्री गर्न झन्झट नभएको बताउनुहुन्छ । यहाँ उत्पादन भएको च्याउ पाल्पा तथा बुटवल बजारमा खपत भइरहेको छ । उहाँका श्रीमान तुलाराम घर्ती अहिले प्रदेश सभा सदस्य समेत हुनुहुन्छ । उहाँलाइ खेतीमा श्रीमानले समेत सहयाेग गर्ने गरेकाे दिलकुमारीले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update