Erani Mahal
जनताकाे पैसा र समय बचत गर्न रिब्दीकाेटका गाउँसम्मै प्रविधि जाेडिदैं
Ribdikot
पाल्पा – दुर्गम गाउँका नागरिकलाई नयाँ प्रबिधिसँग जोड्दै सेवा प्रभावकारी बनाउन जिल्लाको रिब्दीकोट गाउँपालिकाले ‘स्मार्ट टोल’ निर्माण गर्ने अभियान चलाएको छ । नागरिकको इन्टरनेटको माध्यम्बाट विकट गाउँका नागरिकलाई गाउँपालिका लगायत सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त गर्न सकिने सेवालाई सहज बनाउन गाउँपालिकाले स्मार्ट टोल निर्माण गर्ने अभियान थालेको हो । गाउँपालिकाले पालिकाभित्रको दुर्गम गाउँ छानेर आठ वटै वडामा स्मार्ट टोल गठन गरेको छ । स्मार्ट टोलमा स्मार्ट सूचना केन्द्र पनि स्थापना गरिएको छ । जसबाट विद्युत्को महशुल बुझाउनेदेखि लिएर फोटो कपी गर्ने, प्रिन्ट गर्ने, इमेल, स्क्यानिङ् गर्ने सुबिधा छ । यस्तै गाउँपालिकाले दिने घटना दर्ता सेवा पनि सोही केन्द्रमार्फत हुने गरेको छ । गाउँका योजना सम्झौता र फरफारकमा सहजीकरण, मोबाइल तथा टिभीको रिचार्ज, नागरिकले आफूले गरेका राम्रा कामको प्रचार अन्य इन्टरनेटबाट पाइने बैकिङ् सेवा पनि सोही केन्द्रबाट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । केन्द्रमा एक जना स्वयम्सेवक राखिएको छ । स्वयम्सेवकले केन्द्रमा आएका सेवाग्रहीलाई इन्टरनेटको माध्यम्बाट हुने सेवा र अन्य सेवा दिने व्यवस्था गरिएको छ । उक्त केन्द्रका लागि आवश्यक पर्ने सबैखालका उपकरण र प्रविधिमा गाउँपालिकाले लगानी गरेको छ । यसले गाउँका मानिसलाई दिन बिताएर र खर्च गरेर बजार जानुपर्ने बाध्यता हटेको अध्यक्ष जिसीले बताउनुभयो । केन्द्रबाट दिएको सुबिधाका कारण गाउँका मानिस चार/पाँच सय तिरेर हार्थोक बजार, तानसेन लगायतका स्थानमा जान नपरेको उहाँले बताउनुभयो । ‘यो सेवा सुरु गरेपछि विकट गाउँका नागरिकलाई विविध सेवा घरमै लिन सहज भएको छ, जिसीले भन्नुभयो यो कार्यलाई निरन्तरता दिनेछौँ ।’ नागरिकको समय र पैसा बचत गर्न र जुनसुकै बेला सेवा पाउनका लागि यस्तो कार्यक्रम बनाएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका लागि गाउँपालिकाले गत आवमा २५ लाख रुपियाँ र चालु आवमा १२ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । यही कार्यक्रम अन्तर्गत दुर्गम बस्तीका परिवारलाई पाँच हजारदेखि १० हजारसम्म अनुदान दिइएको छ । यही अनुदानबाट गाउँपालिका भित्रका विकट वडामा रहेका करिब २५० घर परिवारले इन्टरनेट जडान गरिसकेका छन् । इन्टरनेट जडान गरेकालाई मोबाइलबाट सामाजिक सञ्जालको प्रयोग गर्न र आफूलाई आवश्यक पर्ने कुनै पनि विषयबस्तु जानकारी लिन सिकाइने छ । इन्टरनेट जडान नगरेका परिवारका सदस्यले गाउँपालिकाले सम्बन्धित टोलमा स्थापना गरेको सूचना केन्द्रको कार्यालयमा पुगेर इन्टरनेट लगायत अन्य सुबिधा लिन पाउनेछन् ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update