Erani Mahal
रामपुरकाे काेल्ड स्टाेरमा भण्डारण गरेकाे लाखाैँ मुल्यकाे आलु बिग्रियाे !
poteto11-1
पाल्पा – रामपुरको चिस्यान केन्द्र (काेल्ड स्टाेर)मा भण्डारण गरेको आलु बिग्रिएपछि यहाँका किसान चिन्तित बनेका छन् । २०७८ बैशाख महिनामा रामपुरमा रहेको तीन सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्रमा भण्डारण गरी राखिएको आलु बिग्रिएको हो । चिस्यान केन्द्र व्यवस्थापनमा गरिएको लापरबाहीले रामपुरका किसानको लाखौँ मुल्य पर्ने आलु बिग्रिएको किसानको गुनासो छ । चिस्यान केन्द्रमा राखिएको एक हजार चार सय क्वीण्टल आलु बिग्रिएको रामपुर–७, का स्थानीय बासिन्दा यमकान्ती गौतमले बताउनुभयो । उहाँले आफ्नो मात्रै चिस्यान केन्द्रमा राखेको दश लाख मुल्य पर्ने आलु बिग्रिएको गुनासो गर्नुभयो । चिस्यान केन्द्र बनाउन ढिलाई भएको र २०७८ बैशाख महिनामा मात्र आलु भण्डारण गरिएकाले आलु बिग्रिएको प्राविधिकको भनाई छ । रामपुरका किसानले गत फागुन महिनामै आलु खनिसकेका थिए, बैशाखमा भण्डारण गर्दा ढिलाई भएको र पहिलो वर्ष भण्डारण गर्दा समस्या सिर्जना भएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । कृषि ज्ञान केन्द्र पाल्पा र रामपुर नगरपालिकाको संयुक्त सहयोगमा गतवर्षदेखि रामपुरमा आलु बल्क कार्यक्रममार्फत पाँच हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो । उक्त क्षेत्रबाट उत्पादित आलु आधिकांश किसानले रामपुरमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरेका थिए । चिस्यान केन्द्रमा भण्डारण गरेवापत किसानले प्रतिकिलो आलुको छ रुपियाँ समेत तिरेका थिए । तर अहिले आलु प्रयोग गर्नै नसक्ने अवस्थाको आएपछि किसानलाई ठूलो मर्का परेको रामपुर–६, का वडाअध्यक्ष हुमनाथ न्पौपानेले बताउनुभयो । बेमौसममा महङ्गोमा बिक्री गर्न भनेर किसानले चिस्यान केन्द्रमा भण्डारण गरेका आलु बिग्रिएपछि किसानले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update