Erani Mahal
लुम्बिनीकी मन्त्री ढेंगालाई बधाई सहित ‘छिनिङ–पिहिन’ विमोचन
242135049_1048091259362940_4364065716289386893_n
सुमन गाहा पाल्पा – लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्री पुरमती ढेंगालाई बधाई ज्ञापन गरिएको छ । नेपाल मगर संघ जिल्ला समिति पाल्पाको आयोजनामा मन्त्री ढेंगामगरलाई एक समारोहका बीच तानसेनमा बधाई सहित सम्मान गरिएको हो । सो अवसरमा मन्त्री ढेगाले उत्पीडित समुदायको उत्थानबिना राज्यले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । उहाँले मगर लगायत पछि परेका समुदायले आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले सबै नागरिकको भावना बुझेर जनतालाई सेवा दिएर अघि बढ्ने बताउनुभयो । यसैबीच मगर संघले प्रकाशिक गरेको ‘छिनिङ–पिहिन’ मुखपत्रको समेत विमोचन गरिएको छ । संघले प्रकाशन गरेको छिनिङ् पीहिन बुलेटिन २५ वर्षअघि पहिलो अंक प्रकाशन भएर अन्य अंक प्रकाशन हुन सकेको थिएन । उक्त बुलेटिनको समेत मन्त्री ढेगाले विमोचन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अथिति सविधान सभा सदस्य लिलाकुमारी सोमै, तुलसा रानाले प्रकाशित छिनिङ् पीहिन बुलेटिन निरन्तर प्रकाशित होस् भन्ने शुभकामना दिनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले लुम्बिनी प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री पुरमती ढेंगा मगरलाई बधाई ज्ञापन व्यक्त गदै थप प्रगतिको कामना गर्नुभयो । उहाँले मगर समुदायको पहिचान र कला संस्कृतिलाई छिनिङ–पिहिन पुस्तकले प्रकाशन गरेर इतिहास निर्माण भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, बुद्धिजीवि निर्मल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजकुमार आले, नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका उपाध्यक्ष प्रेमसागर शाही, नेपाल मगर संघ पाल्पाका पूर्व सहसचिव नोलबहादुर सारुले शुभकामना दिनुभयो । यस्तै नेपाल मगर महिला संघका अध्यक्ष थानीमाया सोमै, सामाजिक अभियान्ता यज्ञप्रसाद पोखरेल, नेपाल मगर संघ पाल्पाका पूर्वअध्यक्ष मुक्तबहादुर सिंजाली, नेपाल मगर महिला संघका संस्थापक बुनु थापा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति, पाल्पाका अध्यक्ष तेज बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ जिल्ला समिति, पाल्पाका अध्यक्ष अमित रास्कोटीले गर्नुभएको थियो संघका सचिव नरेन्द्र सिंजालीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पुस्तक प्रकाशनको बारेमा प्रकाशन समितिका संयोजक गमबहादुर थापाले जानकारी दिनुभएको थियो । उहाँले संघले आगामी दिनमा पनि छिनिङ् पीहिन मुखपत्र प्रकाशनलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । पुस्तकमा मगर जाति, भाषा, कला, संस्कृति, उत्थान लगायतका विषयमा विभिन्न व्यक्तिहरूको विचार तथा दस्तावेज समेटिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update