Erani Mahal
तानसेनमा कांग्रेसले नेतृत्व किन चयन गर्न सकेन ?
Untitled-1
पाल्पा - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाको नौँ वटा पालिकामा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाको दश वटा पालिकामध्ये कांग्रेसले नौँ वटा पालिकामा नेतृत्व सहित अन्य पदाधिकारी समेत चयन गरिसकेको छ । यद्यपी सबैभन्दा चासोको रुपमा हेरिएको तानसेनको भने कांग्रेसले नेतृत्व चयन गर्न सकेको छैन । शनिबार भएको अधिवेशनमा उद्घाटन सत्र सकिएर मनोनयन गर्ने बेलामा निर्वाचन समितिले तानसेनको चुनावी प्रक्रिया केही दिनका लागि स्थगित गरिएको थियो । कांग्रेसका जिल्ला नेतृत्वले नगरमा चुनावबाट भन्दा पनि सहमतिबाट नेतृत्व ल्याउन चाहेकाले चुनावी प्रक्रिया स्थगित भएको कांग्रेस स्रोतले जनाएको छ । सभापतिका दावेदार मोहनप्रसाद श्रेष्ठ चुनाव लडेर नेतृत्व लिने पक्षमा हुनुहुन्छ । तर पार्टीको हालको नेतृत्वले श्रेष्ठलाई अर्कै पदमा थमौती दिएर सभापतिमा सुवर्णमुनी शाक्यलाई ल्याउन खोजेको स्रोतको दावी छ । श्रेष्ठले आफू जिल्लामै बसेर सामाजिक कार्य र पार्टीको काममा सक्रिय रहेकाले आफूले सभापतिको दावी नछाड्ने घोषणा गरिसक्नुभएको छ । शाक्य झण्डै एक दशकदेखि भैरहवामा बस्दै आउनुभएको र कार्यकर्ता तथा नेतासँग पनि चिनजान कम भएकाले श्रेष्ठलाई चुनावबाट नेतृत्व लिन सहज रहेको कांग्रेसका कार्यकर्ताको दावी छ । तर शाक्यको पारिवारिक पृष्ठभूमि पुरानो कांग्रेससँग जोडिएकाले शाक्यलाई सहमतिमा नगर सभापतिमा ल्याउने पार्टीका केही नेतृत्वको चाहना छ । यसले पनि तानसेनमा कांग्रेसले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्नबाट पछि हटेर स्थगित गरेको स्रोतको दावी छ । जिल्लाको रामपुर, रिब्दीकोटमा चुनावबाट नेतृत्व चयन गरेको कांग्रेसले तानसेनमा चुनावी प्रक्रिया रोक्नुलाई महत्वका साथ हेरिएको छ । स्रोतका अनुसार श्रेष्ठलाई नेता कार्यकर्ताको साथ रहेको र शाक्यलाई तानसेनका नेवार समुदायको साथ रहेका कारण पार्टी नेतृत्व सहमतिमै कांग्रेसको नेतृत्व चयन गर्न कस्सिएको बताइएको छ । तानसेनको नेतृत्व सहमतिबाट चयन गर्ने कि हालका दावेदार श्रेष्ठ र शाक्य दुबैलाई हटाएर नयाँ नेतृत्व ल्याउन यस विषयमा पनि कांग्रेस वृत्तमा छलफल भईरहेको छ । नेतृत्व चयन लाेकतान्त्रिक बिधि चुनावी प्रकृयाबाट छान्नुपर्नेमा नतेाहरूले हस्तक्षेप र ह्वीप लगाएर नेतृत्व छान्न लागेकाेमा कार्यकर्ताले भने असन्तु्ष्टि व्यक्त गरेका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनले नेपाली कांग्रेस निस्दीको सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखोलाको सभापतिमा बिष्णुदेवी आचार्य, रम्भाको सभापतिमा ऋषिराम अर्याल, तिनाउको सभापतिमा प्रेम पाण्डे, वगनाशकालीको सभापतिमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहराको सभापतिमा बिष्णु पोखरेल र माथागढीको सभापतिमा दिपक थापालाई चयन गरेको छ । रिब्दीकोटमा भने मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पाण्डेले ९७ मत सहित विजयी बन्नुभयो भने उहाँका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको थियो । यस्तै पाल्पाको रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराई र अर्जुन रेग्मी बीच प्रतिस्पर्धा भएको छ । रामपुरमा मतदानबाट नेत्रप्रसाद भट्टराई चयन हुनुभएको छ । उहाँले १२५ मत प्राप्त गर्नुभएको थियो । कुल खसेको २०८ मतमध्ये भट्टराईले १२५ र उहाँका प्रतिष्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update