Erani Mahal
स्वास्य बिमा कार्यक्रममा पाल्पाका दुई लाख बाह्र हजार बढी नागरिक सहभागी
IMG_20210926_113344
सुमन गाहा,पाल्पा–पाल्पा जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ। जिल्लामा हालसम्म २ लाख १२ हजार १ सय ४६ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। सोमध्ये १ लाख ११ हजार १सय १४ महिला र १ लाख १० हजार पुरुषले २०७७÷०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । बिमा गर्नेमा २७ हजार ८ सय २३ ज्येष्ठ नागरिकले निःशुल्क रुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । सरकारको नीति अनुसार जेष्ठ नागरिक परिचय पत्र भएका २७ हजार बढी नागरिक स्वतःबिमा कार्यक्रममा सहभागी भएका हुन् । उनीहरुलाई नेपाल सरकारले नै निःशुल्क बिमा गरिदिएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका संयोजक यम बहादुर चिदीले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पाका ५ सय ५९ पूर्ण अपाङ्गता भएकाको पनि निःशुल्क बिमा भएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका घर सङ्ख्या १४९ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने कुष्ठरोगी भएका २६ घरघुरीले, एम डी आर टिबी एक परिवारले समेत सुविधा पाएका छन । यस्तै सरकारले गरिब २६ घरपरिवारलाई समेत निःशुल्क सेवा दिइएको जनाइएको छ । महिला स्वास्थ्य स्वम्सेविकाका ४३६ घरपरिवारलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको संयोजक चिदीले बताउनुभयो । स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा तानसेन नगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या छ। तिनाउ गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको स्वास्थ्य बिमा बोर्ड पाल्पाले जनाएको छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएतापनि सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले जिल्ला अस्पतालमा रिफर कार्ड लिन बिरामीले सास्ती भोग्नु परेको छ । सरकारले तोकेका स्वास्थ्य संस्था बाहेक अन्य स्वास्थ्य संस्थामा उपचार गर्न रिफर गर्नुपर्ने बाध्यताले यहाँका सेवाग्रहीले सेवा भन्दा बढी सास्ती बेहोर्नु परेको छ । स्वास्थ्य उपचारका लागि बिमा गरेका अधिकांशले जिल्ला अस्पतालमा पहिलो उपचार स्थान रोजेका छन् । यद्यपी पाल्पा अस्पतालमा बिरामीले भने अनुसार सेवा सुविधा नपाउँदा उनीहरु रिफर लिएर मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा उपचारका लागि बाध्य भएका छन् । बिरामी उपचार गर्ने भन्दा पनि रिफरका लागि मात्र आउने गरेकोले समस्या सिर्जना भएको पाल्पा अस्पतालका मेसु डा.जगदीश कुवरले बताउनुभयो । पाल्पा अस्पतालमा पनि सेवा राम्रो नै छ तर बिरामी नै अन्त उपचारका लागि जान खोजेपछि आफुहरु रोक्न नसकेको उहाँको भनाई छ । पाल्पामा स्वास्थ्य बिमा मार्फत गत आ.व २०७७÷०७८ मा ३७ करोड ४० लाख बढी रकम सेवाग्रहीबाट संकलन भएको थियो । उक्त रकम बिमा गर्ने मानिसको संख्या बढेसँगै हरेक वर्ष बढेको छ । पाल्पामा राम्रा अस्पतालहरुबाट समेत बिमा कार्यक्रमबाट सेवा पाएकाले अधिाकांश बिमा गरेका बिरामीले बिमा नविकरण गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update