Erani Mahal
कांग्रेसमा नेतृत्व चयन सकस : तानसेन नगर सभापतिमा श्रेष्ठ र शाक्यकाे चर्चा !
Untitled-1
तानसेन – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको छ । त्यसका लागि कांग्रेसको वडा तथा गाउँ अधिवेशन सकिएको छ । भोलि शनबिार नगर तथा पालिका अधिवेशन हुँदैछ । पाल्पामा भोलि १० वटै पालिकाहरुमा अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ । दश वटै पालिका तथा नगरमा नयाँ नेतृत्व चयन गर्ने नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । नगर तथा गाउँअधिवेशन शनिबार हुने भएपनि नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । नगर तथा पालिकाहरूमा नेतृत्वका लागि दुई वा दुई भन्दा बढी नेताहरूको दावी रहेको छ । कांग्रेस सम्बद्ध स्रोतका अनुसार तानसेन, रामपुर, रैनादेवी छहरा, लगायतका स्थानमा सभापति सहित अन्य पदमा चुनाव हुने बताइएको छ । यद्यपी नेताहरूले सहमतिमा नेतृत्व चयन प्रक्रिया टुङ्ग्याउने कसरत गरेका छन् । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार पत्रकारहरूसँग सक्षिप्त कुराकानी गर्नुहुँदै श्रेष्ठले आफू आम प्रजातन्त्रमा विस्वास राख्ने कांग्रेसका कार्यकर्ता, प्रतिनिधि, एवं नेताहरुको चाहना अनुसार सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो । ‘नेताहरू अरु पदमा पनि विकल्प दिनुभएको छ, यद्यपी मेरो सभापति भएर काम गर्ने चाहना अनुसार उम्मेदवारी दिने तयारी गरेको छु ।’ उहाँले भन्नुभयो । श्रेष्ठले आफू बरु चुनाव लडेर जीत हार स्वीकार गर्ने तर पछि नहट्ने जिकिर गर्नुभयो । तस्विर : फेसबुक पेजबाट । यसैबीच नगर सभापतिमा तानसेन–४, का स्वर्गीय अध्यक्ष राजेन्द्रमुनी शाक्यको भाई सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । शाक्य हाल भैरहवामा बस्दै आउनुभएको छ । जिल्लाका प्रभावशाली नेताको आशिर्वादले शाक्य नगरसभापतिको उम्मेदवार बन्न लागेको स्रोतको दावी छ । यद्यपी नेताहरू यस विषयमा भने बोल्न सक्नुभएको छैन । उता सामाजिक क्षेत्रको काममा सक्रिय सहभागिता र जिल्लामै बसेर कांग्रेसमा क्रियाशिल रहेकाले श्रेष्ठ कांग्रेसी शुभेच्छुक र कार्यकर्तामाझ लोकप्रिय हुनुहुन्छ । चुनाव भएको खण्डमा श्रेष्ठको पक्षमा अधिकांश कार्यकर्ता रहेपनि नेताको रोजाईमा शाक्य पर्नुभएको कांग्रेस स्रोतले जनाएको छ । शनिबार बिहानसम्ममा नेताहरूले दुई वा दुईभन्दा बढी उम्मेदवार भएका नगर तथा पालिकामा सहमतिमै नेतृत्व चयन गर्नतर्फ सक्रिय रहने स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update