Erani Mahal
रैनादेवी छहरामा संगठन विस्तार गर्दै माओवादी
mao11
पाल्पा – पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संगठन विस्तार अभियान थालेको छ । रैनादेवी छहरामा बसेको अगुवा कार्यकर्तासहितको बैठकले गाउँपालिकामा संगठन बिस्तार अभियान थाल्ने निर्णय लिएको हो । गाउँपालिकाको वडा नंं ४ म्यालढापमा सम्पन्न बैठकले पालिकामा संगठनलाई मजबुद बनाउन विभिन्न कार्यक्रमसहित संगठन विस्तार गर्ने अभियान थाल्ने निर्णय गरेको हो । जस अनुसार असोज २० गतेसम्म वडा सम्मेलनहरु गर्ने, कात्तिक ६ गते गाउँपालिका सम्मेलन गर्ने, तत्कालै जनवर्गीय मोर्चाहरु गठन तथा सम्मेलनहरु गर्ने, मतदाता नामावली अध्यावधिक गर्ने, सदस्यता बितरण र नवीकरण गर्ने, मासिक लेविलाई नियमित र ब्यवस्थित गर्ने, पालिका तहमा एउटा उत्पादन सहकारी गठन गर्ने लगायतका गतिविधिहरु माओवादीले गर्नेभएको छ । त्यस्तै विकास निर्माणका कामलाई पनि थप ब्यवस्थित गरिने माओवादीले जनाएको छ । बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै पार्टीका पाल्पा जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त) ले पार्टीका सबै तहका मोर्चाहरुलाई थप क्रियाशील बनाएर अघि बढ्ने बताउनुभयो । बैठकमा सहभागीले उठाएका जिज्ञासा तथा गुनासाहरुका जवाफ दिंदै नेता घर्तीले पार्टीमा विगतमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सच्चाउँदै थप मजबुद बनाउने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा पार्टी एकताका बेला केही समस्याहरु रहे, तलदेखि माथिसम्म नै यस्तो देखियो, अब पार्टी एकताबद्ध भएको छ, यसलाई थप मजबुद बनाउने अभियान थालिने छ ।’ सत्ता सहकार्यमा हाललाई नेकपा एमालेबाहेकका शक्तिसंग मात्र मिल्न सकिने अवस्था रहेको उहाँको भनाई छ । लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका घर्तीले एमाले अध्यक्ष केपी ओलीकै करण पटक पटक संविधानिक संकट उत्पन्न भएकाले तत्कालका लागि एमालेसंग सहकार्य हुन नसक्ने चर्चा गर्नुभयो । पार्टीका लुम्बिनी प्रदेश सदस्य राजेन्द्र बिकले पार्टी एकीकरणका बेला एमालेकाले धेरै नेताले माओवादी नेताको अस्थित्व स्वीकार नगर्ने, माओवादी नेताहरुलाई कमजोर बनाउन खोज्ने लगायतका काम भएको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरु धेरैजसो भ्रष्टाचारमा डुबेको तर्क गर्नुभयो । अहिले माओवादीकै एजेण्डामा देश चलेको भन्दै नेता बिकले माओवादीकै अग्रगामी एजेण्डाले देशको राजनैतिक परिवर्तन संभव भएको दाबी गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । उक्त अवसरमा बोल्ने बक्ताहरुले केही गुनासा र जिज्ञासाहरु राखेका थिए । वडातहको रिर्पोटिङ गर्दै वडा नं. १ का सोमबहादुर दर्लामी र शेश कुमाल, २ का बीरबहादुर पोखरेल, ३ का मिनबहादुर दर्लामी, ४ का टेकराज पोखरेल, ५ का यादव गहतराज, ७ का टिका रास्कोटी, ८ का रुमान गाहा लगायतले पार्टीलाई थप मजबुद बनाउन माथिल्लो तहका नेताको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो । पार्टीका गाउँपालिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता तथा सचिव प्रदिप पौडेलको संचालनमा भएको कार्यक्रमा पत्रकारहरु भुवन कार्की, रुद्रहरि कुँवर, कमल रायमाझी, विष्णु पोखरेल लागयतले पनि सुझाव राख्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update