Erani Mahal
कांग्रेस पाल्पाकाे सभापति बन्न ६ जना भन्दा बढीकाे आकांक्षा
congress palpa
तानसेन – नेपाली काङ्ग्रेस पाल्पाको सभापति पदका लागि आकांक्षी बढेका छन् । जिल्लाभर ८१ वडामा अधिवेशन सकेको काङ्ग्रेसको जिल्ला सभापतिका लागि छ जना बढी आकांक्षी देखिएका छन् । हालका सभापति वीरबहादुर राना दुई पटक सभापति भइसक्नुभएकाे छ । विधानले अब उहाँ सभापति उम्मेदवार बन्न सक्नुहुन्न । त्यसैले पनि नयाँ अकांक्षी बढेका छन् । वडा अधिवेशन सकिएपछि गाउँ र नगर अधिवेशनका लागि तयारी भइरहेको छ । नगर र पालिकास्तरको अधिवेशन लगत्तै जिल्ला अधिवेशन हुने भएकाले सभापतिका लागि आकांक्षीहरूको दौडधुप चलेको छ । कांग्रेसले पालिका र नगरअधिवेशन आगामी असोज ९ गते तय गरेको छ । त्यसपछि निर्वाचन क्षेत्रको अधिवेशन लगत्तै जिल्ला अधिवेशन आगामी असोज १८ गते हुने तालिका रहेको सचिव झपेन्द्र गहिरेले बताउनुभयो । निर्वाचनको तालिका नजिकिदैँ जादा जिल्ला सभापति बन्ने दौड घनीभूत रुपमा चलेको कांग्रेसका कार्यकर्ता बताउँछन् । सभापति पदका लागि कांग्रेस पाल्पाको हालका उपसभापति देवराज ढकाल, क्षेत्रीय सभापति कृष्ण बस्याल, पूर्व सचिव यमलाल तिमिल्सिना, पूर्व उपसभापति कृष्ण अधिकारी, महाधिवेशन प्रतिनिधि ज्ञान बहादुर गाहा र महासमिति सदस्य हिमालदत्त श्रेष्ठ आकांक्षी रहनुभएको स्रोतले जनाएको छ । उहाँहरूसहित हालका सचिव झपेन्द्र गहिरे, नेताहरू राजेन्द्रगाेपाल सिंह, माधव नेपाल, विधान श्रेष्ठ लगायतकाे पनि चर्चा छ । अन्य पदाधिकारीमा पनि धेरै नेताहरूकाे आकांक्षा छ । केन्द्रमा विभिन्न कित्ता र गुटमा विभाजित भएपनि पाल्पामा भने नेताहरू कित्तामा खासै विभाजित हुनुभएको छैन । तर यो वा त्यो गुटको ट्याग भने नेताहरूलाई लागेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन् । हालका सभापति राना पौडेल निकट मानिएपनि उहाँले कसलाई समर्थन गर्ने भन्ने अझैँ निक्र्यौल भइनसकेको नेताहरू बताउँछन् । अहिले वडा सभापतिमा समेत अधिकांश नयाँ पुस्ता निर्वाचित भएका छन्, यसले पनि आगामी आउने निर्वाचनमा नयाँ पुस्ता नै हावी हुने सम्भावना छ । सभापति पदका लागि धेरै आकांक्षी भएपनि वर्तमान सभापतिको साथ रहनेले निर्वाचन जित्ने पक्कापक्की रहेको काङ्ग्रेसका कार्यकर्ताहरूको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update