Erani Mahal
पाल्पाका ५० हजार बढी नागरिकले लगाए काेराेना बिरूद्धकाे खाेप
khop
सुमन गाहा, तानसेन – पाल्पामा हालसम्म ५० हजार ७ सय ७० जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यो संख्या भनेको १८ वर्षमाथिका कुल जनसंख्याको ३५ प्रतिशत बढी हो । पाल्पामा १८ वर्षमाथिका एक लाख ४३ हजार ६१० जनाले खोप लगाउनुपर्ने तथ्यांक रहेको छ । पाल्पामा सबैभन्दा बढी खोप तानसेन नगरपालिकाभित्रका नागरिकले लगाएका छन् । तानसेनमा १८ वर्ष माथिका ५० प्रतिशत बढी जनसंख्याले कोरोनाका दुबै डोज खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै हालसम्म दुबै डोजका खोप लगाउनेको संख्या भन्दा एक डोज खोप लगाउनेको संख्या तीन हजार छन् । कोरोनाको एउटा विभिन्न चरणमा सञ्चालित खोप अभियानका क्रममा ५३ हजार ७ सय १६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जिल्लामा कोभिडशिल्ड १३ हजार ८ सय २७, भेरोसेल २५ हजार ४ सय ४४ र ज्योनसन १२ हजार ५ सय जनाले खोप लगाएको बताउनुभयो । कोरोनाको दुबै डोजका खोप लगाउनेमा तानसेन नगरपालिकाका १६ हजार ३ सय ६१ जना, रामपुर नगरपालिकाका ६ हजार ३ सय ९४ जना, निस्दी गाउँपालिकाका ३ हजार ८३ जना रहेका छन् । यस्तै पूर्वखोला गाउँपालिकाका २ हजार ९ सय ६८ जना, रम्भा गाउँपालिकाका ३ हजार ५ सय २५ जना, माथागढी गाउँपालिकाका ३ हजार ४ सय १८ जना रहेका छन् । बगनासकाली गाउँपालिकाका ४ हजार ४ सय ९ जना, तिनाउ गाउँपालिकाका २ हजार ५ सय ५८ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ हजार ३ सय ४१ जना र रिब्दीकोट गाउँपालिकाका ३ हजार ७ सय १३ जनाले कोरोना विरुद्धको दुबै खोप लगाएका सूचना अधिकारी पन्थीले बताउनुभयो । पाल्पामा कक्षा १२ को परीक्षा दिने विद्यार्थीका लागि पनि कोरोना बिरुद्धको खोप दिने तयारी गरिएको छ । पाल्पामा ४ हजार १०० विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेकाले उनीहरू सबैलाई कोरोनाको खोप दिने कार्यक्रम तय भइसकेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले बताउनुभयो । सकेसम्म अब बाँकी रहेका ६५ प्रतिशत नागरिकलाई पनि छिटाेभन्दा छिटाे काेराेना बिरूद्धकाे खाेप दिलाउने कार्यालयकाे याेजना रहेकाे उहाँले बताउनुभयाे । पाल्पामा काेराेना बिरूद्धकाे खाेप लगाउनेकाे संख्या निरन्तर बढेकाले काेराेनाकाे जाेखिम कम हुने आँकलन गरिएकाे छ । निषेधाज्ञा खुलेपछि काेराेना संक्रमण हुने जाेखिम कायमै रहेकाले समयमै सबैलाई खाेप लगाउन पहल भइरहेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी याेगेन्द्रप्रसाद पाण्डेले बताउनुभयाे । उहाँकाे खाेप लगाएका व्यक्तिमा पनि काेराेना संक्रमणकाे जाेखिम हुने भएपनि संक्रमितलाई गम्भीर बिरामी हुनबाट भने जाेगाउने बताउनुभयाे । अब ५० भन्दा कम उमेर समूहका नागरिकले पनि खाेप पाउने उहाँले उल्लेख गर्नुभयाे ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update