Erani Mahal
पाल्पामा विद्यार्थीकाे भाैतिक उपस्थितिमै पढाई हुन थाल्याे
school
पाल्पा - जिल्लाका स्थानीय तहहरूले विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका छन् । कोरोना सङ्क्रमण घट्दै गएको र डिसीसीएसीको निर्णयको आधारमा पाल्पाका दश वटै स्थानीय तहहरूमध्ये केही स्थानीय तहहरूले आइतबारदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका छन्। केही स्थानीय तहले तत्कालै कक्षा संचालन गर्नेबारे छलफल गरिरहेका छन् । पाल्पाका स्थानीय तहहरूले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्ने भन्दै डिसीसीएमसीको बैठकले केही दिनअघि निर्णय गरेको थियो । पाल्पामा हाल ४२ जना मात्र सक्रिय सङ्क्रमित रहेका छन् । केही स्थानीय तहमा कोरोनाको सक्रिय सङ्क्रमित शुन्य भएकाले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका थिए । कोरोना सङ्क्रमण कम भएको स्थानीय तहहरूमध्ये, रम्भा, निस्दी, माथागढीलगायतका गाउँपालिकाले आइतबार र साेमबारदेखि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । स्थानीय तहहरूले विद्यार्थीको सङ्ख्या हेरेर सिफ्टका आधारमा कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेका छन् । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड लागू गरेर मात्र विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय चलाउन सक्ने निर्णय गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । ‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्न स्वीकृति दिएका छौँ रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाल भण्डारीले भन्नुभयो ।’ तानसेन नगरपालिकाले आगामी असोज १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको छ । तानसेनमा अझैँ सङ्क्रमण नघटेकाले असोज १ गतेपछि मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update