Erani Mahal
पाल्पामा बढ्दै आत्महत्याका घटना !
suci
पाल्पा - जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढदो क्रममा रहेको पाइएको छ । सामान्य समस्यालाई पनि ठूलो रुपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण पाल्पामा आत्महत्या गर्नेको संख्या बढी मात्रामा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५/०७६ मा ७३ जना, २०७६/०७७ मा ७० जना, २०७७/०७८मा ७२ जनाले आत्महत्या गरेका बताउनुभयो । पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार घटनालाई केलाउँदा केहीले विष सेवन र धेरैले झुन्डिएर आत्महत्या गरेको जानकारी दिनुभयो । जिल्लामा बढ्दै गएको आत्महत्याको संख्या र आत्महत्या गर्नेको अध्ययन गर्दा गरिबीका कारण धेरै जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आर्थिक अभाव हुने, श्रीमान् खाडी मुलुकमा जाने, घरपरिवारबाट समेत सहयोग नपाउँदा पनि आत्महत्या गर्ने गरेको अनुमान गरिएको छ । आत्महत्या गर्नेमध्ये घरायसी विवाद,पारिवारिक कलह, गरिबी, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग जस्ता कारण प्रमुख छन । किशोर अवस्थामा असीमित आकांक्षा पूरा नभएर सानै उमेरमा बालविवाह गर्नु र सानै उमेर बालविवाह गर्नु र सानो समस्यालाई ठूलो सम्झने समस्याका कारण आत्महत्याको निर्णयमा पुगेको घटनाक्रमले देखाएको छ । पाल्पामा कुल घटनामध्ये २९ प्रतिशत घटना आत्महत्याको मात्र रहेको प्रहरीले जनाएको छ । गत आव २०७७÷०७८ मा कुल घटना २५८ मध्ये आत्महत्याका मात्र ७२ रहेको प्रनाउ त्वातीले बताउनुभयो । ‘यो कुल घटनाको २९ प्रतिशत बढी हो उहाँले भन्नुभयो त्यसैले पाल्पाका लागि आत्महत्या चिन्ताको विषय हो ।’ आत्महत्या न्यनीकरण गर्न स्थानीय सरकारदेखि सरोकारवाला सचेत हुनुपर्ने उहाँले बताउनुभयो । आत्महत्या के कारणले गरेको हो, त्यसको समस्या पहिचान गरेर समयमै परामर्श दिने हो भने आत्महत्या कम गर्न सकिन्छ उहाँले भन्नुभयो । पाल्पामा समग्र आपराधिक घटनामा कमी आएपनि आत्महत्या भने घटन नसकेको प्रहरीको दावी छ । प्रहरीका अनुसार आत्महत्या न्युनीकरण गर्न समस्याको पहिचान गरेर उत्प्रेरणा जगाउनुपर्ने, नियमित, योग र ध्यान गर्नुपर्ने, मध्यपान, धुम्रपान र कुलतमा फसे, त्यसबाट तत्काल मुक्त हुनुपर्ने, मनोवैज्ञानिक परामर्श दिनुपर्नेछ । प्रहरीका अनुसार आत्महत्या गर्ने मानिसमा पहिल्यैदेखि नै निरास हुने, मानसिक रोगी हुने, आर्थिक नोक्सानी बेहोरेका, कुनै कुरा सहन नसक्ने, पारिवारिक कलह बेहोरेका मानिसले बढी आत्महत्या गर्नेछन् । त्यसैले यस्ता मानिसको समयमै पहिचान गरेर आवश्यक समस्या समाधान गर्नुपर्ने प्रहरीको भनाई छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update