Erani Mahal
पाल्पामा घट्याे आपराधिक घटना
pakrau-palpa
पाल्पा – पाल्पामा दैनिक हुने आपराधिक घटनामा कमी आएको छ । प्रहरीको सक्रियता र सर्वसाधारणमा कानुन सम्बन्धी जनचेतना बढेका कारण जिल्लामा हुने आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । तीन वर्षदेखिको तथ्यांकमा आपराधिक घटनामा कमी आएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तीन वर्ष पहिलेको तुलनामा पछिल्लो दुई वर्षमा प्रहरीमा अपराधका मुद्दा दर्ता कम भएका जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्मा उल्लेख छ । कर्तव्य ज्यान, भवितव्य ज्यान, आत्महत्या, चोरी, लागुऔषध, अभद्र ब्यवहार, जबरजस्ती करणी, सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता कम भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । प्रहरीमा दर्ता भएका ४३ प्रकारका मुद्दाहरूमध्ये लागू औषध, आत्महत्या, जबर्जस्ती करणी, भवितव्य ज्यान, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कमी आएको छ । यस्तै चोरी तथा लुटपात, चोरी, सवारी ज्यान जस्ता मुद्दा समेत कम भएका छन् । मानिसमा कानुनी सचेतना बढेको र अपराध न्युनीकरणमा प्रहरीको सक्रियता बढेको अवस्थामा अपराधमा कमी आउने प्रनाउ त्वातीले बताउनुभयो । तर पाल्पामा आत्महत्याका घटनामा भने बृद्धि भएको उहाँले बताउनुभयो । जिल्लामा हुने कुल अपराधको सङ्ख्याको २९ प्रतिशत आत्महत्याको मात्र हो त्वातीले भन्नुभयो । आत्महत्या जिल्लाकै समस्याको रुपमा अगाडि आएको उहाँको भनाई छ । पछिल्लो तीन वर्षको अबधिमा प्रहरीमा आठ सय ५९ मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार आ.व २०७५/०७६मा तीन सय २६ मुद्दा प्रहरीमा दर्ता भएको थियो । यस्तै आव २०७६/०७७ मा दुई सय ७५ र आव २०७७/०७८ मा दुई सय ५८ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक मोती खड्काले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update