Erani Mahal
प्रभासकाे  'काेल्ड स्टाेर' नाैँ वर्षदेखि अलपत्र !
cold store12 (1)
तानसेन – जिल्लाको तानसेन–७, बाघखोरमा निर्माणाधीन रहेको शीत भण्डार (कोल्ड स्टोर) को काम नौँ वर्षदेखि अलपत्र बनेको छ । एक वर्ष छ महिनाभित्र शीत भण्डार निर्माणको काम सम्पन्न गर्ने गरी काम थालिएपनि नौँ वर्षसम्म उक्त काम अधुरो बनेको छ । भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार रुपियाँ आर्थिक सहयोगमा सुरु भएको शीत भण्डार निर्माणको काम अलपत्र बनेको छ । निर्माण सुरु भएको कार्य नौ वर्ष हुँदासम्म पनि काम पूरा नभई अलपत्र बन्दा किसानले तरकारी तथा फलफुलजन्य बस्तु भण्डारण गर्न नपाएको स्थानीय बासिन्दाको भनाई छ । पाल्पा, गुल्मी, स्याङ्जा जिल्ला आसपासका क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुलाई भण्डारण गर्न शीत भण्डार निर्माण थालिएको थियो । तर नौँ वर्षमा पनि काम नसकिएको स्थानीय बासिन्दा माधव भट्टराईले बताउनुभयो । ‘शीत भण्डार बनाउन सुरु गरेको नौँ वर्ष बितिसकेको छ भट्टराईले भन्नुभयो तर अहिलेसम्म काम पूरा हुन सकेको छैन ।’ शीत भण्डार निर्माण गर्न २०६९ फागुन २३ गते हिमडुङ एण्ड थोकर/जय रक्तकाली जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको योजना २०७१ जेठ ३० गते सम्पन्न गर्ने म्याद रहेको थियो । तर उक्त शीत भण्डारको काम हालसम्म जम्मा २७ प्रतिशत मात्र भएको नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले शीत भण्डार निर्माण गर्न तीन पटकसम्म म्याद थप गरिसकेको छ । पटक–पटक म्याद थप गरेपनि ठेकेदारले काम नगर्दा नगरपालिका समेत लज्जित हुनुपरेको जनप्रतिनिधिको भनाई छ । नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ । तर ठेकेदारले भने नगरपालिकाबाट अहिलेपनि आफूहरूले गरेको कामको ५० लाख रुपियाँ भुक्तानी नपाएको जनाएको छ । समयमै शीत भण्डार बन्न नसक्दा यस क्षेत्रमा कृषिजन्य बस्तुको उत्पादन गर्ने किसान निरास बनेका छन् । चार रोपनी क्षेत्रफलमा बन्दै गरेको शीत भण्डार सम्पन्न भएको भए दुई सय मेट्रिकटन तरकारी तथा फलफुलजन्य बस्तु स्टोर गर्ने योजना थियो । लामाे समयसम्म अलपत्र हुँदा बनेकाे संरचना समेत बिग्रिएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update