Erani Mahal
पाल्पाका पालिकाहरूमा काेराेना संक्रमित शुन्य : विद्यालय अझै बन्द, शिक्षक संघ/संगठन चुप
school-skech
पाल्पा – पाल्पामा आइतबार ३८ जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो समय पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या निरन्तर घटेका छन् । केही स्थानीय तहमा पछिल्लो १० दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य छ । जिल्लामा कोरोना संक्रमण दर घट्दा सक्रिय संक्रमितको संख्या समेत दिनहुँ घट्दो छ । पाल्पाको कोरोनाको संक्रमण र निको हुने दरलाई विश्लेषण गर्ने हो भने सीसीएमसीले बनाएको स्मार्ट लकडाउनको कार्यबिधि अनुसार पहेलो रंगको अवस्थामा छ । यसलाई सामान्य अवस्थाका रुपमा पनि चित्रित गर्न सकिन्छ । सीसीएमसीले सार्वजनिक गरेको स्मार्ट लकडाउनको कार्यबिधि अनुसार पाल्पाको कोरोना संक्रमण दरलाई विश्लेषण गर्ने हो भने विगत दश दिनयता जिल्लाभर नै लामो समयदेखि बन्द भएको शैक्षिक संस्था संचालनमा आउनुपर्ने हो । स्मार्ट लकडाउनको कार्यबिधि अनुसार हरेक पालिकाले विद्यालय संचालन गर्न जिल्लास्थित कोभिड संकट व्यवस्थापनलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । तर पाल्पामा हालसम्म कुनै पनि पालिकाले विद्यालय संचालन गर्न चासो देखिएका छैनन् । विद्यालय संचालन नै नगरी स्थानीय तहहरुले शिक्षकलाई चुपचाप तलबभत्ता खुवाइरहेका छन् । यसले शैक्षिक गतिबिधि चलायमान हुन सकेको छैन । कोरोना संक्रमण दर हाल न्युन छ । यस्तो बेलामा स्थानीय तहले विद्यालयमा कुल विद्यार्थीको ३३ प्रतिशत विद्यार्थीलाई भौतिक उपस्थितिमै बोलाएर पठनपाठनको व्यवस्था गर्न सक्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ । तर स्थानीय तहहरु चुपचाप बस्दा यसबारे निर्णय हुन सकेको छैन । विद्यार्थी, अभिभावक र आम समुदायको भनाई अब कोरोना संक्रमण सामान्य भइसकेको भन्ने छ । विद्यालयमा छोराछोरी पठनपाठनका लागि पठाउन अभिभावक आतुर छन्, तर निर्णय कतैबाट पनि आउँदैन, यसले अभिभावक विद्यार्थीको शैक्षिक भविष्यप्रति चिन्तित छन् । स्थानीय तहहरुले वैकल्पिक माध्यम्बाट पठनपाठन गर्ने भनेपनि वैकल्पिक माध्यम्बाट पठनपाठन प्रभावकारी बन्न सकेको छैन । जिल्लाका कतिपय नीजि विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेको भन्दै २०७८ बैशाखदेखि साउनसम्मको बिल पठाइसकेका छन् । यसले अभिभावक आर्थिक मारमा परेका छन् । जिल्लाका कतिपय सरकारी विद्यालयमा कम विद्यार्थी छन् । ती विद्यालयमा विद्यार्थीको उपस्थितिमै एक महिनाअघिदेखि नै विद्यालय चलाउन सकिन्थ्यो । तर ती विद्यालयहरुका शिक्षकलाई अहिलेसम्म पढाउन नपर्दा हाइसन्चो भएको छ । त्यसैले हालसम्म बन्द रहेको तर सबैभन्दा संवेदनशील शिक्षा क्षेत्रलाई चयायमान बनाउन स्थानीय तहहरु तत्काल सक्रिय बन्नुपर्ने आवाज उठेको छ । लामो समय विद्यालय बन्द हुँदा र खुलाउने कुनै पहल नहुँदा अब कोरोना विद्यालयमा मात्र सर्ने रहेछ भनेर व्यङ्ग्य समेत आउन थालेको छ । खोप लगाउन कोरोना महामारीको बेलामा चौतर्फी आन्दोलन चर्काउने शिक्षक/संघ/संगठन पनि खोप लगाएपछि चुपचाप बसेको सरोकारवालाहरुलाई मन परेको छैन । (समाचार टिप्पणी)
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update