Erani Mahal
ऐतिहासिक भगवती रथयात्रा निकालियाे
IMG_8847
पाल्पा – नेपाली फौजले जितगढी किल्ला विजय गरेको सम्झनामा पाल्पामा भगवती जात्रा निकालिएको छ । वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी किल्ला विजय गरेको सम्झनामा २०१ वर्षदेखि भगवती जात्रा गर्ने प्रचलन रहेको छ । तत्कालिन कर्णेल उजिरसिंह थापाले जितगढी किल्ला जितेर फर्किएपछि विजयउत्सवको रुपमा भगवतीको रथयात्रा निकाल्ने प्रचलन सुरु गर्नुभएको थियो । सोही युद्धमा विजय प्राप्त गरेको सम्झनामा अहिले पनि तानसेनस्थित भगवती रथयात्रा (जात्रा) गर्ने परम्परा रहेको स्थानीय बासिन्दा एवं भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट भगवती जात्रा निकालिने प्रचलन रहेको छ । [caption id="attachment_4335" align="alignnone" width="768"] फाइल तस्विर ।[/caption] यो वर्ष कोरोना महामारीका कारण भगवती जात्रा प्रतीकको रुपमा मात्र निकालिएको छ । कोरोना सङ्क्रमण फैलिने सम्भवना रहेकाले गत वर्षजस्तै यो वर्ष पनि प्रतिमाको रुपमा भगवतीको रथ मन्दिर परिसरभित्रै घुमाइएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताउनुभयो । रथयात्रा गर्दा धेरै भीडभाड हुने र कोरोना सङ्क्रमण फैलिने सम्भावना देखेर भगवतीको प्रतिपूर्ति घुमाएर भगवती जात्रा विसर्जन गरेको कार्कीले बताउनुभयो ।’ यो वर्ष परम्परागत पूजाबाहेक सर्वसाधारणका लागि मन्दिरमा प्रवेश गर्न दिइएको थिएन । विगतका वर्षमा सेना, प्रशासन, सर्वसाधारण र गुठीले भव्य रुपमा भगवतीलाई बलि दिने प्रचलन समेत थियो । कोरोना महामारी नभएको भए तानसेन बजार क्षेत्रमा घुमाएर मात्र रथ विसर्जन गरिन्थ्यो । यस्तै प्रशासन, सेना तथा मन्दिर व्यवस्थापन समितिले बली दिने गर्दथ्यो । भगवती जात्रालाई नेपालको राष्ट्रियतासँग समेत जोडिने गरिन्छ । तत्कालिन समयमा अङ्ग्रेज सेनालाई पराजित गरेर नेपाली सेनाले नेपालको भूभाग जोगाएकाले भगवती रथयात्रालाई राष्ट्रियतासँग जोड्न मिल्ने इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update