Erani Mahal
कपिलवस्तुमा ट्रस पुल निर्माणसँगै चार दशकदेखिको सास्ती हट्यो
bbnp pul
कपिलवस्तु- वर्षायामसँगै कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ मसुरे र अर्घाखाँचीको शितगंगा नगरपालिका ११ का जनताको कष्टकर जीवन सुरु हुन्थ्यो । बुद्धभूमि ३ घोँघवा खोलामा पुल नहुँदा राजमार्ग पुग्ने एउटै बाटो उनीहरुका लागि बन्द हुन्थ्यो । विद्यालय जान, बिरामी हुँदा उपचार गर्न, किनमेल गर्न जान खोलाकै कारण वन्चित हुनु परेको थियो । पुल नहुँदा २ हजार बढी नागरिक ४ दशकदेखि सास्ती खेप्दै आएका थिए । तर संघीय सरकार र बुद्धभूमि नगरपालिकाको सहयोगमा फलामे ट्रसको पुल बनेपछि मसुरे गाउँसँगै शितगंगाका मौवावारी, लुंग्री लगायतका स्थानीयलाई राहत भएको छ । पुल नहुँदा वर्षायाममा खोला तर्दै यात्रा गर्नुपर्ने बाध्यता थियो । बाढी आउँदा खोला तर्न नसकी घरमै फर्किनुपर्ने बाध्यता थियो । विगत ४० वर्षदेखि दुःख झेल्दै आएका स्थानीय गत फागुनदेखि समस्यामुक्त भएको बुद्धभूमि ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयाे । पुलले २०३० साल अगाडिदेखि बस्दै आएको दुई जिल्लाका २ हजार भन्दा धेरै नागरिक लाभान्वित भएका छन् । टाँकु मसुरे ट्रस पुल निर्माण उपभोक्ता समितिमार्फत ३० लाख ६५ हजार २ सय १७ रुपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको थियो । कोरोनाका कारण पुल निर्माण कार्य १ वर्ष पछाडि धकेलिएको पुल निर्माण समिति सचिव युवराज न्यौपानेले बताउनुभयाे । पुलका कारण ५०५ घरधुरीका महिला, वृद्ध र बालबालिकाको दैनिकी सहज भएको छ । खोलाका कारण हुने समस्याबाट मुक्त भएका छन् । ३२ मिटर लामो पुल निर्माणका लागि बुद्धभूमि नगरपालिकाको १ लाख ८३ हजार ९१३ रुपैयाँ, उपभोक्ता समितिको ६१ हजार ३०४ र संघीय सरकारको २८ लाख १९ हजार ९९९ रुपैयाँ लागत रहेको छ । पुलबाट साइकल, मोटरसाइकल र अटोसमेत आवतजावत गर्न सक्ने गरी तयार पारिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update