Erani Mahal
अर्घाखाँचीमा १४ दिने कडा निषेधाज्ञा
DAO_arghakhanchi
अर्घाखाँची — जिल्लामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासनले १४ दिन कडा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबारबाट साउन ३० गते रातिसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ । प्रशासनका अनुसार यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म डेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न दिइनेछ । सार्वजनिक, निजी यातायात चल्नेछैनन् । बैंक तथा वित्तीय संस्था पुरै बन्द हुनेछन् । शिक्षण संस्था, धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभासम्मेलनलगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयाे । ‘गाउँमा कोरोना संक्रमण दर बढेकाले नियन्त्रणको लागि कडा निषेधाज्ञा जारी गर्नुपरेको हो,’ उहाँले भन्नुभयाे, ‘अर्घाखाँचीवासी १४ दिनसम्म घरभित्रै सुरक्षित भएर बस्नुस्, कतै नहिँड्नुस् । कोरोना नियन्त्रणमा सघाउनुस् ।’ जिल्लामा हाल ५ सय ७१ जना कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । गाउँ–गाउँमा रुघाखोकी, ज्वरोका बिरामी छन् । गाउँमा एन्टिजेन्ट परीक्षण बढाउने र संक्रमित भएकालाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने प्रजिअ पौडेलले बतानउनुभयाे । गाउँमा तेस्रो लहर आएकाले कोरोना संक्रमण बढेको अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले बताउनुभयाे । ‘एन्टिजेन परीक्षण गरिएका मध्ये आधाको रिपोर्ट पोजिटिभ आउने गर्छ । अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन दिएर बचाउनु परेको छ । जिल्लामा तेस्रो लहरको संक्रमण दर बढ्दो छ,’ उनले भने, ‘बेलैमा नियन्त्रण नगरिए भयावह स्थिति हुन सक्छ ।’ गाउँमा धेरैजसो रुघाखोकी, ज्वरो आउनेका बिरामी प्राय: घरैपिच्छे भएकाले स्थानीय तहको समन्वयमा एन्टिजेन परीक्षण गर्ने र संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update