Erani Mahal
तानसेन खानेपानीमा चरम लापरवाही : हिलो र लेदो पानी पिउन बाध्य !
tansen pani
पाल्पा– तानसेन खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण पाल्पामा पछिल्लो दुई महिना यता धारामा हिलो, धमिलो, कालो लेदो सहितको पानी वितरण भइरहेको छ । तानसेनको खानेपानी वितरणको जिम्मा पाएको तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीको कारण तानसेनका उपभोक्ताहरु हिलो, लेदो, धमिलो, कालो पानी प्रयोग गर्न बाध्य भएका छन् । सरकारी स्वामित्वमा रहेको तानसेनको खानेपानी व्यवस्थापन केही वर्ष पहिले उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो तर उपभोक्ता समितिका पदाधिकारीहरुको चरम लापरवाहीका कारण तानसेनका खानेपानी उपभोक्ताहरु हैरानी भएका छन् । राजनीतिक भागबण्डाको आधारमा बनाइएको उपभोक्ता समितिमा काँग्रेसबाट चकोरमान शाक्य अध्यक्ष बन्नुभएको थियो, गत वर्ष उहाँको निधन भएपछि तानसेन खानेपानी उपभोक्ता समिति नेतृत्व विहिन भएको छ । का.वा. अध्यक्षमा एमालेबाट उपाध्यक्ष बन्नुभएका प्रदेश सांसद पुरनमान बज्राचार्य रहनुभएको छ । यस्तै सचिवमा माओवादीका केशव पौडेल र कोषाध्यक्षमा राप्रपाका भीमसेन कार्की रहनुभएको छ । दलीय भागबण्डाको आधारमा अन्य सदस्यहरु समेत रहेका छन् तर उपभोक्ता समितिले उपभोक्ताको हित विपरित काम गर्ने गरेको भन्दै तानसेनमा बेलाबेलामा समिति विरुद्ध उपभोक्ताहरु सडकमा समेत आउने गरेका छन्, कहिले महिनौं सम्म धारामा पानी नआउने, कहिले अनियमित वितरण, कहिले फोहोर र धमिलो पानी, कहिले के यस्तै समस्याका बीच तानसेनको खानेपानी समिति गुज्रिरहेको छ । लिफ्टिङ्ग गरेर खानेपानी ल्याउने तानसेनमा विद्युत महशुल बढी आउने भएकोले घाटा लाग्ने गरेको समितिको भनाई छ तर बैज्ञानिक खानेपानी व्यवस्थापनमा भने समितिको ध्यान जान सकेको छैन । तानसेनमा खानेपानी समस्याको समाधानका लागि लामो समयपछि कालीगण्डकी लिफ्ट खानेपानी आयोजना संचालनमा आएको छ तर त्यसयता तानसेनको खानेपानी धारामा हिलाम्य, लेदो, सेतो फिंज, कालो लेदो, रातो जस्ता रंगी विरंगी पानीहरु खन उपभोक्ता बाध्य भएका छन् । केही उपभोक्ताले आजित भएर सामाजिक संजालमा फोटो हाल्दै विरोध त गरेका छन् तर त्यसको सुनुवाई कहि कतैबाट भएको छैन । कहिले १५ दिन त कहिले एकहप्तामा धारामा पानि आउँछ तानसेनका एक उपभोक्ताले भन्नुभयो, तर धमिलो पानीले गर्दा रोगको जोखिम बढाएको छ । धमिलो लेदो पानीले झाडापखला लगायतका संक्रमण फैलिन सक्ने भएपनि उपभोक्ता समितिको त्यसको व्यवस्थापनमा ध्यान जान सकेको छैन । उपभोक्ता समितिको चरम लापरवाहीको कारण तानसेनमा खानेपानी समस्या समाधान हुन सकेको छैन । तानसेनमा धारा वितरणमा समेत लामो समयदेखि समस्या रहेको छ, माग अनुसार धारा वितरण नहुने, पहुँचको आधारमा धारा वितरण हुने गर्दा तानसेनको खानेपानीको समस्या समाधान हुन नसकेको हो । खानेपानी समस्या समाधान गर्ने भन्दै तानसेन नगरसरकारले पहल समेत गरेको छ । नगरपालिकाले महशुल छुटमा अनुदान समेत दिएको थियो तर त्यसलाई प्रभावकारी रुपमा व्यवस्थापनमा भने सरोकारवालाहरुले सकेका छैनन् । यस विषयमा तानसेन उपभोक्ता समितिका कावा अध्यक्ष पुरनमान बज्राचार्यसँग प्रतिक्रिया लिदा उहाँले कालीगण्डकीको इनारमै त्यस्तो कालो पानी आएको बताउनुभयो, उहाँले त्यसमा उपभोक्ता समितिको लापरवाही गरेको भन्न नमिल्ने बताउनुभयो । उहाँले त्यो पनि परीक्षण गरिएकोले पिउन सकिने बताउनुभयो तर समितिले अब वर्षातको समयमा कालीगण्डकीको पानी नल्याउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले खानेपानीको भुल्के मुलमा समेत पहेंलो धमिलो पानी आएकाले त्यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । तस्वीर हरी पोखरेलको सहयोगमा ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update