Erani Mahal
सरकारद्वारा प्रदेश प्रमुख हेरफेर : लुम्बिनीमा शेरचन, गण्डकीमा पृथ्वीमान !
amik-serchan
पाल्पा- सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो । त्यसैगरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई पठाइएको छ । संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी पठाइएको हो । संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने उल्लेख छ । संविधानले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ । धारा १६३ को २ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ ।’ त्यसैगरी उपधारा ३ मा भनिएको छ, ‘राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ ।’ सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पनि हटाउने सरकारले तयारी गरेकोमा मंगलबारको मन्त्रिपरिषदले यसबारे निर्णय गरेन । प्रदेश २ मा जसपाका तर्फबाट प्रदेश प्रमुख पठाउने गठबन्धनका दलहरुबीच सहमति भएकोमा जसपाले नाम नपठाएकाले निर्णय हुन नसकेको हाे ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update