Erani Mahal
‘हाम्रो तानसेन’ बुलेटिनको बाह्रौँ अङ्क सार्वजनिक
nnnn
पाल्पा – 'हाम्रो तानसेन' बुलेटिनको बाह्रौँ पूर्णाङ्क सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकाद्वारा प्रकाशित ‘हाम्रो तानसेन’ बुलेटिनको बाह्रौँ अङ्क आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । बुलेटिनका संरक्षक नगर प्रमुख अशोककुमार शाहीसहित उपस्थित सबै महानुभावहरूले एकसाथ बुलेटिन सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख शाहीले बुलेटिनले नगरपालिकाका जनप्रतिनिधिले गरेका कामको प्रशंसा मात्र होइन, तानसेनको समग्र क्षेत्रलाइ समेटेर बुलेटिन प्रकाशित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रशंसा र विकास निर्माणका कामको मात्र पुस्तक प्रकाशन अन्य स्थानीय तहले पनि गरेकाले हाम्रो तानसेन पृथक बनाउन आफूहरूले चाहेको र साेही अनुसार सहयाेग गरेकाे बताउनुभयो । तानसेन भनेको समग्र इतिहास, कला–संस्कृति, साहित्य, भाषा, सम्पदा, पर्यटन हो, यसलाई बुलेटिनले समेटेको उहाँको भनाई छ । कार्यक्रममा तानसेन वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन, पत्रकार महासंघ पाल्पाका सभापति रेखीराम राना, रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख, साहित्यकार टंक पन्थ लगाउतले आ–आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरूले तानसेनले प्रकाशन गरेकाे 'हाम्राे तानसेन' बुलेटिन एउटा ऐतिहासिक दस्तावेज भएकाे बताउँदै निरन्तर प्रकाशनको शुभकामना दिनुभयो । कार्यक्रममा बाह्रौँ अङ्कमा तानसेनका लेखक साहित्यकार विशेष रहेको र यससम्बन्धी खोज अध्ययन गर्नुभएका राम ज्ञवालीले बृहत् लेख तयार पार्दाको अनुभूति राख्नुभयो । सार्वजनिक समारोह तानसेन नगर उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, प्रवक्ता दामोदर घिमिरेको धन्यवाद ज्ञापन र ‘हाम्रो तानसेन’ बुलेटिनका प्रधान सम्पादक गोविन्द भट्टराईको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बुलेटिनका प्रधानसम्पादक भट्टराईले बुलेटिन नेपालमै पृथक भएको दावी गर्नुभयो । उहाँले सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता भएपश्चात विविध क्षेत्रलाई समेटेर तीन वर्षदेखि निरन्तर बुलेटिन प्रकाशन भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update