Erani Mahal
पाल्पामा कोरोना खोप लगाउन भीड : थप जोखिम बढ्न सक्ने !
covid
पाल्पा– पाल्पाका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउन बढी मात्रामा भिडभाड हुँदा समस्या भएको छ । बढ्दो भिडभाडका कारण कोरोना संक्रमणको थप जोखिम बढ्ने देखिएको छ । सीमित खोप केन्द्र रहेका कारण पनि जिल्ला सदरमुकाम तानसेन सहित अन्य गाउँपालिकाका केन्द्रमा समेत खोप लगाउनेहरुको भीड बढ्दै गएको छ । सरकारले ५४ वर्ष माथिका र अन्य लक्षित वर्गलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम अन्तर्गत पाल्पामा पनि मंगलवारदेखि खोप सुरु भएको हो । खोप लगाउन तानसेनमा आँखा अस्पतालको केन्द्र राखिएको छ । बजारदेखि उकालो बाटो र बढी भीडभाडले गर्दा कतिपय सर्वसाधारणहरु त्यसै फर्किएका थिए । यस्तै व्यवस्थापन फितलो र भिड व्यवस्थापन नहुँदा कोरोना खोप लगाउन स्थानीयलाई सास्ती भएको छ । अर्कातर्फ सर्वसाधरणले समेत कुनै भाैतिक दुरी र स्वास्थ्य मापदण्ड पालना नगर्दा जाेखिमकाे समस्या बढ्दै गएको छ । २०७८ साउन ५ गतेदेखि ७ गतेसम्म तीन दिन जिल्लाका खोप केन्द्रहरुमा कोरोना बिरुद्धको खोप लगाउने तालिका सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले माग गरेअनुसार खोप नआएका कारण यसअघि छुटेका ६२ वर्षभन्दा माथि उमेर समूहका र सरकारले तोकेको ५५ वर्षदेखि ६१ वर्ष उमेरका मानिसलाई खोप लगाउने जनाएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप लगाए पाल्पाका लागि ३२ हजार बढी कोरोना बिरुद्धको खोप आवश्यक पर्छ । तर खोप कम आएकाले यसअघि प्राथमिकतामा परेका तर छुटेका (६२ वर्ष माथिका) र ५५ वर्षदेखि ६१ वर्षका नागरिकलाई खोप लगाउन निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माग भएअनुसार खोप आएको भए पेशागत क्षेत्रमा क्रियाशिल व्यक्तिलाई पनि खोप लगाउने भनिएको थियो र खोपको उपलब्धता कम भएकाले सरकारको नीति अनुसार खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तस्वीर : पाल्पाको आँखा अस्पताल केन्द्रमा खोप लगाउन लाइन लागेका स्थानीय : तस्वीर धिरेन खातीको सहयोगमा ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update