Erani Mahal
तानसेनमा मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रम प्रभावकारी
a
पाल्पा– लुम्बिनी प्रदेशबाट तानसेन नगरपालिकामा सञ्चालित मुख्यमन्त्रि ग्रामिण बिकास तथा रोजगार कार्यक्रम तानसेन नगरपालिकामा प्रभावकारी भएको छ । विपन्न वर्गको सुदृढीकरण रोजगारको श्रृजना गरि समुदायको बिकास गर्र्ने उदेश्यले सञ्चालित यस कार्यक्रमबाट तानसेन नगरपालिकाको ६ वटा वडाका विभिन्न टोलमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रम कृषि, शिक्षा, अपाङ्गता र जेष्ठ नागरिक लक्षित छ जसअन्र्तगत शिक्षामा विद्यालयलाई शैक्षिक सामाग्री र विद्यार्थीलाई पोसाक सहित स्टेसनरी वितरण, कृषिमा आधुनिकता सहितको व्यवसायिकरणको लागी उन्नत बिउबिजन उन्नत जातको पशुपक्षी वितरण र खोर निर्माणमा सहयोग, व्यवसायिक तालिम, अपाङ्गता क्षेत्रमा सहयोगी सामाग्री वितरण, जेष्ठ नागरिक सम्मान सहित पोषक तत्व र न्यानो कपडा वितरण लगायतका कार्यक्रमहरु तानसेन नगरपालिकामा सम्पन्न भएको मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । कार्यक्रम मुख्यतया तानसेन नगरपालिकाको वडा नं ५ शिवपोखरी, वडा नं ८ कोकल, वडा नं ९, वडा नं ११ तिलाहार, वडा नं १२ डाडाकटेरी र वडा नं १४ कुसेनी रनुवामा सञ्चालन भएको उपमेयर लक्ष्मि पाठकले जानकारी दिनुभयो । कार्यक्रमबाट रोजगार बृद्धीको लागी समुदायमा चलिरहेको खेतीपाती र पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउने मुख्य उदेश्य राखेको समितीका सदस्य गुराँस आत्रेयले जानकारी दिनुभयो । कृषिलाई आधुनिक बनाउन यस कार्यक्रमबाट चार सय भन्दा बढि परिवारलाई बिउ विजन वितरण भएको छ । ४४ जना कृषकलाई टनेल निमार्णको लागी प्लाष्टिक र ३९ जना कृषकलाई प्लाष्टिक पोखरी वितरण गरिएको छ । कार्यक्रमबाट पशुपालनक्षेत्रमा व्यवसायिकता बृद्धिको लागी ८० परिवारलाई उन्नत जातको बाख्रा पाठी, ४० परिवारलाई लोकल कुखुराको चल्ला, १० परिवारलाई बंगुरको पाठी र ४२ कृषकलाइ बाख्रा खोर निर्माणमा आर्थिक सहयोग गरेको छ । उत्साही कृषको माग अनुसार उन्नत बोका, उन्नत जातका घाँस लगायत तानसेन नगरपालिकाले व्यवसायिकता वृद्धिको लागी आवश्यक तालिम र अन्य सहयोग निरन्तर दिदै आएको छ । युवाहरुलाई स्वरोजगार बनाउन सञ्चालित कम्प्युटर मर्मत र कुक तालिम निषेधआज्ञाको कारण पुर्णरुपमा सञ्चालन हुन नसकेकाले आउदो वर्षमा थप गर्ने छ । शिक्षानै समुदाय विकासको मेरुदण्ड हो भन्ने मान्यताका साथ यस कार्यक्रमले तानसेन नगरपालिकाका चार विद्यालयलाई बालकक्षा व्यवस्थापनका लागी सामाग्री वितरण गरेको छ भने सख्याको आधारमा धेरै विपन्न विद्यार्थीले अध्ययन गर्ने ६ वटा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्रयाक सुट, झोला, स्टेसनरी वितरण गरेको छ भने ३ वटा विद्यालयलाई दिवा खाजा निमार्णको लागी भाढाकुडाको सेट प्रदान गरेको छ । निषेधआज्ञाको कारण बन्द रहेका विद्यालयहरु सञ्चालनमा आएपछि वितरित सामानको प्रयोगले शैक्षिक वातावरणमा थप सहयोग पुग्ने कार्यक्रमले अपेक्षा राखेको कार्यक्रमका फोकल पर्सन दुर्गा थापाले जानकारी दिनुभयो । समाजलाई लामो समय योगदान दिएर अहिले घरमै रहनुभएका तानसेन नगरपालिकाका तिन सय बढि जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ भने शारीरिक रुपमा अशक्त रहनुभएका अपागं व्यक्तिको स्याहारसुसारमा परिवारलाई सहयोग होस् भनेर ह्वील चियर लगायतका सामाग्री वितरणले सहयोग पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update