पाल्पा – एक दशकअघिसम्म तिनाउ–३, श्रीडाँडा गाउँमा यातायातको पहुँच थिएन । सडक, खानेपानी, विद्युत् लगायतका आधारभूत आवश्यकताबाट यो गाउँ बञ्चित थियो । तर जब गाउँमा चुनढुङ्गा खानी सञ्चालनमा आयो । त्यसपछि भने गाउँमा यातायात र विद्यत्को पहुँच बिस्तार भयो । खानी सञ्चालनले केहीले गाउँलेले राजगारी समेत पाए । तर गाउँमा चुनढुङ्गा खानी सञ्चालनसँगै भईरहेको बाढी पहिरो जस्ता विनासले यहाँका बासिन्दा चिन्तित बन्न थालेका छन् ।
चुनखानी सञ्चालन भएको दशक बितेपछि भने तिनाउका अधिकांश स्थानका बासिन्दाले विकासले विनासको बाटो समाएको बताउँछन् । अहिले आफूहरू बाढी, पहिरो जस्ता समस्याबाट पीडित बनेको बताउन थालेका छन् । पहिले गाउँमा केही थिएन, खानीसँगै यातायातको पहुँच विस्तार भयो, हामीलाई बजार आउन जान सजिलो भयो तर गाउँ वरपर पहिरोले मान्छेको मृत्युको खबर पनि बढ्न थाल्यो । बिस्थापित भएको खबर आउन थाल्यो तिनाउ गाउँपालिका–३, की मीना सुनारीले भन्नुभयो ।
सिद्धार्थ राजमार्गको पानीमिलबाट ठाडै उकालो निस्किएपछि पुगिने श्रीडाँडामा सिद्धार्थ मिनरल्स प्रालिले चुनढुङ्गा खानी सञ्चालनमा ल्याएको छ । खानी सञ्चालनले गाउँको विकास भएपनि खानीबाट बाढी, पहिरो समस्या पनि थपिने क्रम बढेको सुनारीले बताउनुभयो ।
खानीमा जाने सडक खन्दा र दैनिक तीन सय बढी ट्रिपर ओहोरदोहोर गर्दा श्रीडाँडा जाने सडकको माथिल्लो भागबाट डाँडै भासिएको छ । सडकको तल र माथि ३३ घरहरू जोखिममा छन् । चुनाढुङ्गा जाने खानीको सडकको दुबै तिरबाट पहिरो खस्दा के अवस्था हुने हो यहाँका अधिकांश गाउँले चिन्तित बनेका छन् ।
अधिकांश चुरे क्षेत्र पर्ने तिनाउ गाउँपालिकामा १० वटा चुनढुङ्गा खानी सञ्चालनमा छन् । हिउँदमा धुलोले हैरानी र वर्षा लागेपछि डाँडै खस्ला जस्तो गरी बाढी र पहिरोको जोखिम बढेको छ । खानी सञ्चालन भएपछि हरेक वर्ष तिनाउको विभिन्न स्थानमा खानी क्षेत्र र सडक क्षेत्रबाट बगेका पहिरोले मानिसको घर र ज्यान जाने गरेको छ ।
श्रीडाँडा मात्र होइन, तिनाउ गाउँपालिकाभित्र सञ्चालित कन्चन कोइरिज (चुनढुङ्गा खानी) प्रालिको जाने बाटोको छेउबाट भासिएर झुम्सामा मानवीय क्षति भइसकेको छ । नजिकको सुकुम्बासी बस्ती नै बिस्थापित भएको छ । चुनढुङ्गाको अत्याधिक दोहोनका कारण पनि सिद्धार्थ राजमार्ग ध्वस्त बनेको तिनाउ–३, का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेयले बताउनुभयो ।
अत्याधिक भार क्षमताका ट्रिपर सञ्चालनले सिद्धार्थ राजमार्ग भासिदा पानी मिलतर्फका ३१ र झुम्साका १५ घर अहिले पनि पहिरोको जोखिममा रहेको छ । चुनढुङ्गा उत्खनन गर्दै आएका खानी उद्योगले न्यूनतम् मापदण्डसमेत पालना नगर्दा यस्ता खालका समस्या थपिदै गएको तिनाउ गाउँपालिकाका केही जनप्रतिनिधिको भनाई छ ।
खानी सञ्चालकले खानी तथा भूःगर्भविभाग, वन विभागसँग सम्झौता भए अनुसारका काम गर्नुपर्ने हुन्छ तर अधिकांश खानी उत्खनन्को जिम्मेवारी लिएको कम्पनीले सम्झौता अनुसार काम गर्न सकेका छैनन् । यसको अनुगमन गर्ने जिम्मेवारी डिभिजन वन कार्यालय पाल्पाको हो तर डिभिजन वनले समेत अनुगमन र सचेत गराउन सकेको छैन ।
यसले पाल्पाको प्राकृतिक स्रोतको चरम दोहान भएको देखिन्छ । यसका साथै वातावरणीय विनास, मानवीय तथा भौतिक विनासकाे एउटै कारक बनेको छ, खानीको जथाभावी उत्खनन् ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय