पाल्पा – पाल्पामा साउन ५ गतेदेखि फेरी कोरोना बिरुद्धको खोप अभियान सुरु हुँदैछ । २०७८ साउन ५ गतेदेखि ७ गतेसम्म तीन दिन जिल्लाका खोप केन्द्रहरुमा कोरोना बिरुद्धको खोप लगाउने तालिका सार्वजनिक भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले माग गरेअनुसार खोप नआएका कारण यसअघि छुटेका ६२ वर्षभन्दा माथि उमेर समूहका र सरकारले तोकेको ५५ वर्षदेखि ६१ वर्ष उमेरका मानिसलाई खोप लगाउने जनाएको छ ।
सरकारले तोकेको प्राथमिकताका आधारमा खोप लगाए पाल्पाका लागि ३२ हजार बढी कोरोना बिरुद्धको खोप आवश्यक पर्छ । तर खोप कम आएकाले यसअघि प्राथमिकतामा परेका तर छुटेका (६२ वर्ष माथिका) र ५५ वर्षदेखि ६१ वर्षका नागरिकलाई खोप लगाउन निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
माग भएअनुसार खोप आएको भए पेशागत क्षेत्रमा क्रियाशिल व्यक्तिलाई पनि खोप लगाउने भनिएको थियो र खोपको उपलब्धता कम भएकाले सरकारको नीति अनुसार खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । खोपको तालिका सार्वजनिक भएपनि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्तिहरूले सामाजिक संजालमा बिरोध गर्नुको अर्थ नरहेको स्वास्थ्य कार्यालयको भनाई छ ।
खोप आएपछि तोकिएका सबै क्षेत्रका मानिसलाई खोप लगाउने कार्यक्रम छ सूचना अधिकारी पन्थीले भन्नुभयो । छुटेका जेष्ठ नागरिक, उमेरमा महिना र दिन अपुग भएर पहिले छुटेका नागरिकलाई छाड्न भएन उहाँले थप्नुभयो । खोप अभावका कारणले अहिले देशका विभिन्न स्थानमा खोप कार्यक्रम स्थगित भएको प्रति आफूहरु सचेत रहेको स्वास्थ्य कार्यालयको भनाई छ ।
शिक्षक पेशामा आबद्ध व्यक्तिहरूले भने शिक्षक तथा प्राध्यापकलाइ खाेप नदिएकाे भन्दै बिराेध जनाएका छन् । उनीहरूले सामाजिक संजालमा शिक्षण पेशामा आबद्ध भएकाले सरकारले ताेकेकाे प्राथमिकतामा आधारमा तत्काल खाेप पाउनुपर्ने बताएका छन् ।
पाल्पामा यसअघि केही पालिकाले खोप दुरुपयोग गरेको भन्दै उहाँले यो पटक कसैले खोप दुरुपयोग गरेर आफ्ना आफन्तलाई लगाए कारबाही हुने पन्थीले बताउनुभयो । पाल्पामा यसअघि ६२ उमेर समूहभन्दा माथि र कोरोना नियन्त्रणका लागि अघिल्लो लहरमा खटेका मानिसले खोप लगाइसकेको छन् ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८ २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय