Erani Mahal
रम्भा गापाद्वारा आव २०७८/०७९ का लागि विनियोजित बजेट तथा कार्यक्रम सार्वजनिक
rrr
पाल्पा – रम्भा गाउँपालिकाले आगामी आव २०७८/०७९ का लागि विनियोजन गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ गाउँसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले शिक्षा, स्वास्थ्य र पशुपालनलाई केन्द्रमा राखेर रम्भाले आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम नवौँ गाउँसभाबाट पारित गरेको जानकारी दिनुभयो । रम्भा गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय प्रवक्ता रेग्मीले उल्लेख गर्नुभयो । समग्र कृषि क्षेत्रको विकासले मात्र समृद्ध गाउँपालिका बनाउन सकिने भन्दै प्रवक्ता रेग्मीले कृषिको व्यावसायिकीकरणमा रम्भाले लगानी गर्ने बताउनुभयो । उहाँले आगामी आवका लागि कृषितर्फ ३ करोड ४१ लाख बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै शिक्षा क्षेत्रका लागि १ करोड ९८ लाख, स्वास्थ्यतर्फ १ करोड ६० लाख, पूर्वाधार निर्माणलाई समेत बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । दुध, मासु र अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, किसानलाई प्रोत्साहन अनुदान तथा पुरस्कृत गर्ने, गाउँपालिकाभित्र रहेका ल्याब सेवालाई निशुल्क बनाउने, सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, विपन्न परिवारका लागि स्वास्थ्य विमा गरिदिने, कोभिड अस्पताल सञ्चालन गर्ने रम्भाको योजना छ । यस्तै हरेक घरमा एक धारा पु¥याउने, काठका पोल हटाएर स्टीलका पोल राख्ने, रम्भा गाउँपालिकाभित्रका सडकको स्तरउन्नतिमा ध्यान दिने लगायतका कार्यक्रम आगामी वर्षका लागि तय भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनताका सामु आफूहरुले गरेको प्रतिबद्धता अनुसार विसका निर्माण तथा समृद्ध गाउँपालिका बनाउन काम भइरहेको बताउनुभयो । अध्यक्ष भण्डारीले गाउँपालिकाले विगतमा सञ्चालन गरेका राम्रा कामलाई निरन्तरता दिएको उल्लेख गर्नुहुँदै स्मार्ट गाउँपालिका बनाउने योजना अनुसार काम भईरहेको बताउनुभयो । रम्भाका जनतालाई आत्मनिर्भर र स्वाबलम्बी बनाएपछि नै सुखी र समृद्ध रम्भा बन्ने भण्डारीले बताउनुभयो । बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नेकपा एमालेका नेता चेतबहादुर सुनारीले रम्भाको मात्र आन्तरिक स्रोतबाट भन्दा संघीय र प्रदेश सरकारबाट ठूला विकास निर्माणका काम अगाडि बताउनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली कांग्रेस रम्भाका सभापति अशोक फालमगरले अधिकांश कार्यक्रमलाई निरन्तरता दिनुभन्दा उपलब्धी आउने खालका कार्यक्रममा रम्भाले प्राथमिकता दिन नसकेको बताउनुभयो । उहाँले गाउँपालिकाले निष्पक्ष रुपमा सबैलाई समान व्यवहार गर्न र पालिकाको केन्द्र तत्काल तोक्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम राना, निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, शिक्षक महासंघ रम्भाका अध्यक्ष धनबहादुर पौडेल, कृष्ण मावि झेस्काङ्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम राना, रम्भा माविका प्रअ तुल्सीराम अर्याल, बाल सञ्जालकी अध्यक्ष शुष्मा सुर्यबंशी लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट किसान, विद्यार्थी, शिक्षक, प्रअ तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठको स्वागत, गाउँपालिकाका अधिकृत भक्तुजंग रानाको सञ्चालन र अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको थियो । सोही अवसरमा शिक्षा, महिला तथा बालबालिका शाखाले सम्झौता अनुसार तयार गरेको प्रगति प्रतिवेदन शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाललाई बुझाउनुभएको थियो । यस्त रम्भा गाउँपालिकाको त्रि–वर्षीय शैक्षिक योजना समेत सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष भण्डारी, उपाध्यक्ष श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत ढकालले संयुक्त रुपमा उक्त शैक्षिक योजना सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update