Erani Mahal
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय बैठक सम्पन्न
zone
पाल्पा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाको समन्वय बैठक एवं समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार तानसेनमा भएको बैठकमा कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले आर्थिक वर्ष २०७७/०७८ मा गरेका योजना तथा कार्यक्रमको बारेमा जानकारी दिनुभयो । उहाँले पाल्पामा तरकारी बल्क निर्माण, तरकारीको बीउको स्रोत केन्द्र स्थापना, च्याउको कोल्ड स्टोर निर्माण, कृषि हाटबजार निर्माण, मकैको बीउ भण्डारण स्थल निर्माण, अकबरे खुर्सानीको पेक क्षेत्र निर्माणको काम सकिएको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष पाल्पामा बेसार, अदुवा र सुन्तलाको जोन बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले कफीको सुपर जोन कार्यक्रममा पाल्पाबाट कोही पनि कृषक सहभागी नभएको बताउनुभयो । उहाँले पाल्पामै सबैभन्दा ठूलो तरकारीको बिउ उत्पादन स्थल निर्माण सकिएको र अर्को आवदेखि एक पटकमा एक लाख तरकारीकाे बिउ उत्पादन हुने बताउनुभयो । कार्यालय प्रमुख भट्टराईले जिल्लाको विभिन्न स्थानमा टनेल निर्माण, प्लास्टिकको पोखरी निर्माणको काम समेत भएको जानकारी दिनुभयो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले काम गर्ने किसानलाई अनुदान दिने कार्यलाई बढाउनुपर्ने बताउनुभयो । उहाँले धेरै मानिसको काममा भन्दा अनुदानमा आँखा लाग्ने गरेको भन्दै स्थानीय तहको सक्रियताले कार्यक्रम डुप्लिकेशन रोकिने बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले पाल्पामा अकबरे खुर्सानीको उत्पादन बढाउन कार्यालयले गरेको कामको प्रशंसा गर्नुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले विगतमा जिल्लाभित्र कृषि क्षेत्रमा धेरै लगानी भएको बताउँदै अबदेखि लगानी प्रतिफल केलाएर मात्र गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, कृषि समूहका अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय कार्यबहाक प्रमुख मीरा मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update