Erani Mahal
भू तथा जलाधार कार्यालय पाल्पाकाे याेजना तथा कार्यक्रमकाे समीक्षा बैठक
ddd
पाल्पा – भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाले आव २०७७/०७८ मा गरेका कामको प्रगति समीक्षा गरेको छ । आव २०७७/०७८ मा जिल्लाका विभिन्न स्थानमा सञ्चालित साना तथा ठूला योजनाको प्रगतिको बारेमा कार्यालय प्रमुख आनन्दराम घिमिरेले समीक्षा गोष्ठीमा जानकारी दिनुभएको थियो । घिमिरेले भू तथा जलाधार क्षेत्रको योजनामा ९७ प्रतिशत प्रगति हासिल भएको जानकारी दिनुभयो । यस्तै पर्यटन प्रबद्र्धनतर्फ रिडीमा सञ्चालित रिडी तटबन्ध आयोजनाको ५९ प्रतिशत प्रगति भएकाे गोष्ठीमा उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त योजनाहरुको भने शतप्रतिशत प्रगति भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । उहाँले कार्यालयबाट सम्पन्न योजनाबाट ४० हेक्टर कृषियोग्य जमिनको संरक्षण भएको, ७० हेक्टर जमिनमा भूक्षय रोकिएको, १६ स्थानमा खसेको पहिरो नियन्त्रणमा आएकाे बताउनुभयाे । उहाँले जिल्लाका विभिन्न स्थानमा भूक्षय राेक्न १४ हजार ४२० वटा बिरुवा रोपिएको बताउनुभयो । समीक्षा बैठकमा बोल्नुहुँदै प्रदेशसभा सदस्य वीरबहादुर रानाले विकासको नाममा भईरहेको विनासको परिपाटीलाई रोक्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले विपद्का बेलामा पनि कार्यालयले अधिकांश योजना सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुहुँदै थप विपद्का घटना हुन नदिन बजेट तथा कार्यक्रममा कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले कार्यालयले कम जनशक्ति भएपनि काम सन्तोषजनक गरेकाे बताउनुभयो । रिडी क्षेत्रमा बन्दै गरेको तटबन्द निर्माणको स्थलगत अनुगमनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले विकास निर्माणका कामले भूक्षय बढेको भन्दै नीतिगत तहबाटै विकासको कामलाई सुधार्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाकी कार्यबहाक प्रमुख मीरा मरासिनीको अध्यक्षता र भू तथा जलाधार कार्यालय पाल्पाका शम्भु शंकर झाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update