Erani Mahal
गुल्मीकाे इस्मामा खानेपानी तथा सरसरफाई बोर्ड गठन गरिने
Isma
टोपलाल अर्याल गुल्मीः- जिल्लाकाे इस्मा गाउँपालिकाले खानेपानी तथा सरसरफाई बोर्ड गठन तथा परिचालन ऐन पारित गरेको छ । नबौ गाउँ सभाको पहिलो बैठकले नीति कार्यक्रम र बजेट पारित गरेको थियो । नबौ गाउँ सभाको दोस्रो बैठकबाट खानेपानी तथा सरसरफाई बोर्ड गठन तथा परिचालन ऐन र महत्वपूर्ण ५ कार्यबिधी पारित गरिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिनुभयाे । इस्मा गाउँपालिकाभित्र खानेपानी तथा सरसफाई सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाउँदै ‘एक घर धारा’ अभियानलाई सफल बनाउन बोर्ड गठन गर्ने योजनामा गाउँपालिका रहेको छ । बोर्डले उपभोक्ता समितिहरुलाई व्यवस्थित गरी खानेपानी योजनाहरुको नियमित सञ्चालन र नयाँ योजनाको लागि विनियोजित बजेट र कार्यक्रम कार्यान्वयन गरी उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्ने गाउँपालिकाको उदेश्य रहेको गाउँपालिका प्रमुख बिष्टले बताउनुभयाे । बिष्टका अनुसार ऐनमा उल्लेख भए अनुसार बोर्डले गाउँपालिकाभित्र खानेपानी तथा सरसफाइ योजना र सेवा प्रणालीहरु निर्माण, संचालन, सुधार, विस्तार तथा पुनस्र्थापना गर्ने गराउने, आगामी वर्षको कार्ययोजना र आवश्यक बजेट तयार गरी गाउँपालिकामा पेश गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने, दिवस समारोह मनाउने, खानेपानी तथा सरसफाईको क्षेत्रमा गाउँपालिकाले तर्जुमा गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने गराउने उल्लेख छ । त्यस्तै अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरी कार्यान्वयन गर्ने गराउने, खानेपानी तथा सरसफाई योजनाहरुको सञ्चालन र विस्तारको लागि आवश्यक आर्थिक स्रोत पहिचान गर्ने, माग निवेदन गर्ने र कार्यान्वयन गर्ने, सेवाको महसुल दर निर्धारण गरी कार्यान्वयन गर्ने गराउने, सीप र क्षमता अभिवृद्धिमूलक तालिमहरु आयोजना गर्ने बिषय पनि ऐनमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले जानकारी दिनुभयाे । बोर्डले गाउँपालिका भित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुलाई बोर्डमा आबद्ध गर्ने, बोर्डका पदाधिकारीहरुको भौगोलिक वा विषयगत कार्यविभाजन गर्ने, समितिको काम, कर्तव्य र अधिकार तोक्ने तथा परिचालन गर्ने, सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने, आवश्यक जनशक्ति व्यवस्था लगायत कार्यपालिकाले तोकेका अन्य काम गर्ने । त्यस्तै ऐनमा बोर्ड अन्तरगत वडा खानेपानी तथा सरसफाइ विकास समितिको व्यावस्था गरिएको छ । वडा समितिको प्रमुख काम वोर्डलाई सहयोग तथा सहजीकरण गर्ने प्रवक्ता अधिकारीले बताउनुभयाे । ऐनले १५ सदस्यीय खानेपानी तथा सरसफाई बोर्डको संरचना निर्माण गरेको छ । जसमा गाउँपालिका क्षेत्रभित्रका खानेपानी उपभोक्ताहरु मध्येबाट गाउँकार्यपालिकाले मनोनित गरेको व्यक्ति अध्यक्ष, गाउँपालिकाका प्रत्येक वडा खानेपानी तथा सरसफाइ विकास समितिले सिफारिस गरेका १÷१ जना गरेर ६ जना सदस्य रहनेछन् । त्यस्तै गाउँकार्यपालिकाले मनोनित गरेका कम्तीमा १ दलित र २ महिला सहित ६ जना सदस्य र विज्ञता एवं आवश्यकताका आधारमा बोर्डको बैठकले मनोनित गर्ने बढीमा २ जना बोर्डको सदस्य हुने बिधायन समिति संयोजक नारायण पैयानीले जानकारी दिनुभयाे । समितिको बैठक बसी सदस्यहरु मध्येबाट समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको छनौट गरिने पैयानीले बताउनुभयाे । त्यस्तै दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधी, आदिवासी जनजाति समन्वय समिति गठन तथा परिचालन कार्यविधी, जेष्ठ नागरिक कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधी, महिला समन्वय समिति गठन तथा परिचालन कार्यविधी, युवा तथा खेलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि, अशक्त अपांग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधी २०७८ पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update