Erani Mahal
बगनासकाली गाउँपालिकाका किसानले पाए कृषि औजार
aaujar
पाल्पा - बगनासकाली गाउँपालिकाका किसानले कृषि औजार पाएका छन् । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको गाउँपालिकाले जनाएको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । पालिकाले आफ्ना ९ वटै वडाका कृषकहरुलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन, कम्वाईन मिल, मकै रोप्ने मेसिन, डिजिटल तराजु, घाँस काट्ने मेसिन लगायतका कृषि औजारहरु दिएको छ । गाउँपालिकाको कृषि शाखाले एक कार्यक्रम गरी यहाँका कृषकहरुलाई अनुदानमा कृषि औजार अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदीले कृषकलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा १ का वडा अध्यक्ष सोमबहादुर झेडी, ३ का वडा अध्यक्ष टीकाबहादुर थापा, ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीना लगायतको उपस्थितीमा कृषि औजार वितरण गरिएको थियो । कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको कृषि शाखा प्रमुख राजेश बोहोराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७० वटा हाते ट्याक्टर, ६९ वटा कम्वाईन मिल, १९ वटा डिजिटल तराजु, ग्राइन्डर, मकै रोप्ने मेसिन, स्प्रेयर, सिकेटर,करौती जस्ता कृषि औजारहरु अनुदानमा वितरण गरिसकिएको छ ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update