Erani Mahal
रिब्दीकाेटका डेरीलाइ दुग्धजन्य उपकरण प्रदान
bhaisi ribdi
पाल्पा - रिब्दीकोट गाउँपालिकाका दूध डेरीलाई उपकरण वितरण गरिएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो । दूध डेरी संचालन गर्दै आएका१० वटा कृषक समूह तथा कृषि सहकारीलाई अनुदानमा उपकरण वितरण गरिएको रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो । वडा नम्बर १ स्थित ख्याहा बहुउद्देश्यीय सहकारी संस्थालाई डि–फ्रिज एक थान, मिल्क क्यान ठूलो चार थान र मिल्क एनलाईजर एक थान प्रदान गरिएको छ। वडा नम्बर २ को देवीस्थान दुग्ध उत्पादक सहकारी संस्थालाई कम्प्युटर र प्रिन्टर, वडा नम्बर ३ मा रहेको खस्यौली पशु सेवा दूध उत्पादक समूहलाई तौल मेसिन एक थान, ३ नम्बर वडामा रहेको श्री दुग्ध उत्पादक सहकारी संघलाई मिल्क क्यान ठूलो दुई थान वितरण गरिएको छ । यस्तै वडा नम्बर ४ मा रहेको रानीठाँटी दुध उत्पादक कृषक समूहलाई मिल्क क्यान ठूलो दुइ थान, वडा नम्बर ४ कै भैरबस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई २ हजार लिटर क्षमता भएको चिलिङ भ्याट एक थान, मिल्क क्यान ठूलो दुई थान, मिल्क एनलाईजर एक थान, कम्प्युटर र प्रिन्टर, वडा नम्बर ५ मा रहेको समाज कल्याण कृषि सहकारी संस्थालाई मिल्क क्यान ठूलो तीन थान, तौल मेसिन एक थान वितरण गरिएको छ । कार्कीका अनुसार वडा नम्बर ६ स्थित गौरवशील कृषक समूहलाई डि–फ्रिज एक थान, मिल्क क्यान ठूलो तीन थान, वडा नम्बर ७ मा रहेको आत्मनिर्भर कृषि सहकारी संस्थालाई डि–फ्रिज एक थान, मिल्क एनलाईजर एक, मिल्क क्यान सानो ६, मिल्क क्यान ठूलो तीन, वडा नम्बर ८ मा रहेको सेतो गुराँस दुग्ध संकलन समूहलाई मिल्क एनलाइजर एक थान, मिल्क क्यान ठूलो चार थान वितरण गरिएको छ । रिब्दीकोट कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत यहाँ संचालनमा रहेका दुध डेरी अर्थात् दुग्ध संकलन केन्द्रलाई उपकरण अनुदानमा सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार करिब २८ लाख बराबरको उपकरण सहयोग गरिएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने अभियानमा स्थानीय सरकार रहेको उहाँले बताउनुभयो । यसका लागि किसानलाई दूध उत्पादनमा व्यवसायिक बनाउनु पर्छ । गाई भैँसीलाई खुवाउने घाँस र दानाको लागि गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ । बर्खाको समयमा खाली रहेका खरबारीमा घाँसका विरूवा रोप्नु पर्छ। अनुदानदेखि आवश्यक अन्य सहयोग गर्ने जिसीले बताउनुभयो । रिब्दीकोट गाउापालिकालाई शुद्ध दूधको पहिचान दिनुपर्ने उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका दूधलाई विविधिकरण गर्नुपर्ने उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो । नजिकै पर्यटकीय पहिचान बोकेको भैरवस्थान मन्दिर छ । यहाँ देश तथा विदेशका धार्मिक पर्यटक आउने गर्छन् । दूधबाट बन्ने अर्गानिक मिठाइजस्ता विभिन्न परिकार बनाएर उनीहरूलाई बिक्री गर्न सके व्यक्ति र सिंगो गाउँपालिकाको आर्थिक टेवा पुग्ने उहाँले बताउनुभयो । यो परियोजनाअन्तर्गत किसानले नजिकैको दुग्ध संकलन उपकेन्द्रमा दूध ल्याउने छन् । त्यहाँ संकलन भएका दूध भैरबस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले भैरवस्थान बजारमा खरिद गर्ने छ । यहाँबाट दुधको बजारीकरण हुने वडा नम्बर ४ का वडाध्यक्ष दुर्गाप्रसाद खनालले बताउनुभयो । स्थानीय बजार र जिल्लाको सदरमुकाम तानसेनमा दूध बिक्री हुन्छ । रिब्दीकोट गाउँपालिकामा दैनिक १ हजार ५०० लिटर दुध उत्पादन हुँदै आएको छ । अबको २ महिनामा दैनिक ३ हजार लिटर दूध उत्पादन हुने अनुमान गरिएको छ । केही दिन अघि गाउँपालिका र हेफरको सहयोगमा यहाँका किसानलाई मुर्रा जातका लैनो भैँसी वितरण गरिएको छ । ५ लाख बराबरको उन्नत जातको घाँसका बिउ तथा विरूवा खरिद गरेर वितरण गरिसकिएको छ । मिलन बिकबाट ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update