Erani Mahal
सम्मान सहित महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाई
204567171_314462690429255_2202297355916800207_n
पाल्पा - लामो समयदेखि समाजमा स्वास्थ्य सेवा पुर्‍याउदै आएका रामपुर नगरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान सहित बिदाइ भएका छन् । उमेर हदका कारण र शारिरिक अस्वस्थताले सेवा छोएका महिला स्वास्थ्य स्वयंसेविकालाई रामपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा कार्यक्रम गरि सम्मान गरेको हो । रामपुर नगरपालिकाका विभिन्न वडामा रहेर समुदायमा राष्ट्रिय अभियानका कार्यक्रम नियमित खोप, विभिन्न थरिका औषधि खादै आएका बिरामीलाई घरायसी सरसफाइ देखि स्वास्थ्य सस्था जान प्रेरित गर्दै परामर्श सेवा दिदै आएका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानका साथ बिदाई गरिएको हो । रामपुर नगरपालिका अन्तर्गत सेवा दिदै आउनुभएका मायाकान्ती भण्डारी, नारायणी भण्डारी, हिमा कुमारी चापागाई, दिलमाया सिग्देल, शिव देवी गैरे र राधादेवी काफ्लेलाई सम्मान गरिएको हो । उहाँहरुलाई रामपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले रकम, सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । सम्मान गर्नुहुर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले समुदायको डाक्टरको रुपमा सदैव तैनाथ हुने महिला स्वास्थ्य स्वयंसेविकाको उच्च प्रशंसा गर्दै दिर्घ जिवनको शुभकामना दिनुभयो । नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले "उपमेयरको चिनारी: मेरो नगर मेरो जिम्मेवारी" कार्यक्रमबाट पनि महिला स्वास्थ्य स्वयंसेविकालाई नगरले सक्दो सहयोग गरेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले राम्रो काम गरेका स्वास्थ्य स्वयंसेविकाको सिको अब आउनेले गर्दै स्वस्थ नगर बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यसको लागि प्रबर्द्धनात्मक कार्यक्रम गर्दै क्षमताले भ्याएसम्मको काम गर्ने उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले महिला तथा शिशु मृत्युदर कम गर्न महत्वपूर्ण भुमिका खेल्नुहुने महिला स्वास्थ्य स्वयंसेविकाको देन ठूलो रहेको बताउदै कार्यक्रममा ६० वर्ष उमेर अवधि पुगेका स्वयंसेविकालाई सम्मान गरेको बताउनुभयो । उहाले जिल्लाका कुल ६ सय १५ जना महिला स्वास्थ्य स्वयंसेविका मध्य यो बर्ष २५ जना बिदाई हुनुहुने जानकारी दिनुभयो । रामपुर नगरपालिका १० कि महिला स्वास्थ्य स्वयंसेविका हिमा कुमारी चापागाइले बोल्दै केही नपाएपनि पैदल हिडेर सेवा दिएको बिगत सम्झदै अहिले सम्मान पाउद गर्व लागेको बताउनुभयो । यसैबिच रामपुर नगरपालिकाले नगरमा रहनुभएका ४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी कार्यक्रमबाट झोला बितरण गरेको छ । दैनिक गाउघरमा घुमेर स्वास्थ्य अबस्था बुझ्दै नियमित अभियानका खोप कार्यक्रममा अग्रसर गराउदै आउनुभएका उहाँहरुमा अत्यन्त आवश्यक पर्ने र सहजता र हौसला दिन झोला प्रदान गरिएको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा गाडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले स्वागत गर्नुभएको थियो भने संचालन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update