Erani Mahal
तानसेनकाे नवाैँ नगरसभा सुरू, आगामी आवका लागि १ अर्ब २८ कराेडकाे बजेट प्रस्ताव
tansen1
पाल्पा – तानसेन नगरपालिकाको नवौँ नगरसभा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको नवौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट नीति तथा कार्यक्रम पेश भएको छ । सभामा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कोरोना महामारी नियन्त्रण र नगरको विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । ‘सुव्यवस्थित पूर्वाधार, पहिचानमुलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी सांस्कृतिक नगर’ को नारा सहित आगामी वर्षको नीति तथा बजेट तय भएको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले नगरको विकास र समृद्धिको परिकल्पना साकार पार्न नगरका बृहत विकासका योजनाका आधारमा आगामी नीति, बजेट तथा कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा संक्रमितको उपचारका लागि स्थायी आइसोलेसन सेन्टर बनाउने, अक्सिजन व्यवस्थापन, आवश्यक जनशक्ति व्यवस्थापनमा नगर सरकारले काम गर्ने बताउनुभयो । नेपाल सरकारबाट गरिब पहिचानपत्र पाएका र नगरभित्रका कर्मचारीको स्वास्थ्य विमा गरिदिने योजना पनि नगरपालिकाले अघि सारेको नगर प्रमुख शाहीले बताउनुभयो । नगरभित्रका विद्यालयहरुलाई कार्यसम्पादनको आधारमा अनुदान दिने, छोरी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने, दरबन्दी नभएका विद्यालयमा शिक्षक अनुदान दिने नगरसभा प्रस्तुत नीति बजेट तथा कार्यक्रममा समावेश गरिएको छ । युवालाई स्वरोजगार तथा उद्यमी बनाउन नगरपालिका जमानी बसेर अधिकतम ५० लाखसम्म विनाधितो कर्जा उपलब्ध गराउने, सहकारी संस्थाहरुसँग सहकार्य गरेर रोजगारी सिर्जना गर्ने, विभिन्न संघसंस्थासँगको सहकार्यमा कृषि तथा उद्यमशिता विकासमा लगानी बढाउने योजना नगरपालिकाको रहेको छ । तानसेन नगरलाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर बनाउन कार्यक्रम गरिने, एक वडा एक कृषि प्राविधिकको व्यवस्था गर्ने, दुधको प्रशोधन, बजारीकरण, कपी, बिउबीजनलाई सहयोगलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । नगरभित्रका भूमिहीन सुकुमबासी, दलित एवं पिछडिएका वर्ग र समुदायलाई सहकारी संस्थामा आबद्ध गर्न स्वरोजगारमुलक कार्यक्रम गरिने, नीजि संस्थासँगको साझेदारीमा सुपथ मुल्यको पसल संचालन गर्ने निर्माणाधीन उद्योगग्रामलाई तत्काल निर्माणमा ध्यान दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नवौँ नगरसभामा खेतीयोग्य जमिनमा घरघडेरी निर्माण कार्यलाई निरुत्साहित गर्ने, नगरभित्रका व्यापारी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ । यस्तै श्रीनगरमा बीग बुद्धको निर्माणलाई अगाडि बढाउने, प्रभास ताल व्यवस्थापन, एतेहिासिक अर्गली दरबार जग्गा व्यवस्थापन, टक्सार खुला संग्राहलय सञ्चालनमा ध्यान दिने, नगर क्षेत्रका मठमन्दिर, कलाकृतिको संरक्षणमा ध्यान दिएर पर्यटन प्रबद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कविवर माधवप्रसाद देवकोटाको शालिक निर्माण गरिने, विपी प्रतिष्ठान निर्माण, पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कारकोष बृद्धि गर्दैै भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने सभामा पेश भएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले एक वडा एक किलोमिटर पक्की सडक निर्माण अभियानलाई आगामी आवमा निरन्तरता दिने, तानसेनको वनदेवीमा बसपार्क निर्माणलाई तत्काल अगाडि बढाउने, सिद्धार्थ आर्थिक कोरिडोरमार्फत बहुपक्षीय साझेदारहरुसँग सहकार्य गरिने नगरपालिकाले जनाएको छ । यस्तै नगरको पर्यटन प्रबद्र्धन गर्न हाइवे रिफ्रेसमेन्ट सेन्टर फोहोरमैला व्यवस्थापन र रानीमहल सञ्चालन तथा व्यवस्थापनमा सार्वजनिक नीजि साझेदारी कार्यान्वयन गरिनेछ । नगरपालिकाले पत्रकार महासंघ पाल्पा शाखा लगायत, पाल्पाका संचार क्षेत्रलाई कार्यसम्पादनका आधारमा सहयोग दिने, हाम्रो तानसेन बुलेटिन प्रकाशनलाई निरन्तरता दिने, सूचनाको हक सम्बन्धी क्षमता विकास गर्ने, जनताका समस्या र गुनासो हल गर्न जनतासँग मेयर कार्यक्रमलाई निरन्तरता दिने सभामा पेश भएको कार्यक्रममा उल्लेख छ । तानसेन नगरसभामा आगामी आवका लागि १ अर्ब २८ करोड ७० लाख बराबरको बजेट प्रस्ताव गरिएको छ । त्यसमध्ये चालुतर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ४२ प्रतिशत खर्च हुने नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिनुभयो । सभामा सभासद् शशी श्रेष्ठ, विष्णुबहादुर कार्की, प्रेम मल्ल, रामप्रसाद बस्याल, सागरमान महर्जन, रामबहादुर रावल लगायतले विभिन्न विद्ययेक तथा प्रस्ताव तथा संशोधन सुझाव राख्नुभएको थियो । नगरसभा आगामी १७ गते पुन बस्ने सामाजिक विकास शाखा प्रमुख भरत आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update