Erani Mahal
पाल्पामा विपद् सम्बन्धी घटना न्यूनीकरण गर्न कसले के गर्ने ?
parsasan palpa
पाल्पा – जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । भर्चुअल बिधिबाट भएको बैठकले जिल्लामा हुनसक्ने विपद्का घटना न्युनीकरण सहित आवश्यक तयारी सम्बन्धमा १९ वटा निर्णयहरु गरेको समितिका अध्यक्ष एवं पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । बैठकले जिल्लामा हुनसक्ने बाढी पहिरो जस्ता घटनाको जोखिम कम गर्न आवश्यक तयारी गर्ने निर्णय गरेको छ । सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा पहिरो जान सक्ने भएकाले तत्काल सडक खुलाउन सडक डिभिजन कार्यालयको स्काभेटर, कालीगण्डकी कोरिडोर र स्थानीय तहका डोजर तथा स्काभेटर तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ । यस्तै प्रत्येक स्थानीय तहमा पहिरो जान सक्ने सम्भावित स्थानहरुको अध्ययन् गरी सम्बन्धित स्थानीय तहले मानवीय क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न अनुगमन र पहल गर्ने, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले आवश्यक औषधि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । विपद् व्यवस्थापन समितिको बैठकले विपद्का बेला प्रभावित व्यक्तिहरुका लागि राहत उपलब्ध गराउन रेडक्रस सोसाइटी पाल्पाले फुड बैँक स्थापना गर्ने र सोही संस्थामार्फत सहयोग गर्न चाहने व्यक्तिले राहत दिन सक्ने निर्णय भएको छ । यस्तै वर्षात्को समयमा सधै पहिरो खसिरहने क्षेत्र गौडेपुल नजिकै र सिद्धबावा क्षेत्रको भौगर्भिक अध्ययन् र सोही अनुसारको नियन्त्रणको योजना बनाउन सडक कार्यालयले पहल गर्ने, सिंचाई डिभिजन कार्यालय र भू तथा जलाधार कार्यालयबाट आवश्यक तारजालीको व्यवस्थापन गरी जिल्ला विपद् व्यवस्थापन समितिको रिफारिसका आधारमा वितरण गर्ने निर्णय भएको प्रजिअ पाण्डेयले बताउनुभयो । विपद्को बेला खानेपानी, विद्युत् र संचार निरन्तर सुचारु राख्न सम्बन्धित कार्यालयले ध्यान दिने र तयारी अवस्थामा राख्ने, जिल्लामा खाद्य अभाव हुन नदिन उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ र नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थाले खाद्य तथा गैरखाद्य बस्तु अभाव हुन नदिन पहल गर्ने निर्णय भएको छ । सबै स्थानीय तहका एम्बुलेन्स तथा दमकल जस्ता साधनलाई तयारी अवस्थामा राख्ने, विपद्मा परेको बेलामा तत्काल उद्दार गर्न वडा तहमै आम नागरिक समाज, राजनैतिक दल तथा अन्य मानिसको सहभागितामा स्वयम्सेवी टीम बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका शाखा अधिकृत रमा श्रे्ठले जानकारी दिनुभयाे । यस्तै जिल्लाका संचारमाध्यम्हरु र सम्बन्धित सरकारी निकायहरुले विपद्को पूर्व तयारी सम्बन्धी सन्देश तथा सूचना प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो । यस्तै कोरोना भाइरस तेस्रो भेरियन्ट नियन्त्रण गर्न सबैले तयारी थाल्ने निर्णय समेत भएको छ ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update