Erani Mahal
पाल्पाबाट लगेकाे अवैध काठ सहित दुई ट्याक्टर प्रहरी नियन्त्रणमा !
image1
भुवन कार्की बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० स्थित झिमझिमेका काठ ठेकेदार भैया भनेर चिनिने हरिहर थापाका दुई वटा ट्याक्टरलाई अबैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बेलुका सोही स्थानको फूलबारी क्षेत्रबाट ट्याक्टरका चालकहरुसहित पक्राउ गरी सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले दिएको जानकारी अनुसार पाल्पाको चन्द्राकार सामुदायिक वन उपभोक्ता समूहबाट लिइएको भनिएको कागजात बिनाको अबैध काठसहित दुई ट्क्याटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठ र गाडी दुबैको कागजात नभएको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयाे । पाल्पा जिल्लाको सामुदायिक वनबाट रुपन्देहीको क्षेत्रमा बिना कागजात काठ ओसारपसार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । दुबै ट्याक्टरबाट प्रहरीले १६२ क्यूफिट सालको काठ बरामद भएको जनाएको छ । सालको काठको बजार मूल्य प्रतिक्यूफिट सरदर पाँच हजार रुपैयाँ पर्छ । यसरी हेर्दा करिब ८ लाखको काठ प्रहरीले बरामद गरेको छ । ठेकेदार थापाको लु १ च ९६५५ र लु ३ च ८३०७ नम्बरका दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रमा लिएर जिल्ला वन कार्यालय रुपन्देहीलाई बुझाउन तयारी गरेको प्रहरी निरीक्षक रिजालले बताए । त्यसका लागि जिल्ला वन कार्यालयलाई प्रहरीले जानकारी गराइसकेको छ । पक्राउ परेका दुबै ट्याक्टर आफ्नो भएको ठेकेदार थापाले स्वीकार गरे । यसअघि काठ कारोबारमै पाल्पाका एक वडाअध्यक्षलाई थापाले तीन लाख घुस रकम दिदै गर्दा वडाअध्यक्ष अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका थिए । चन्द्राकार सामूदायिक वनमा गत दुई वर्षअघि पनि बिद्युत बिस्तारका नाममा करिब दुई सय काँचा साल काटिएपछि वन कार्यालयले मुद्दा चलाएको थियो । उक्त मुद्दा अझै टुंगिएको छैन । यसवर्ष भने अन्य ढलापडा रुख काट्ने टेण्डर भएको बुझिएको छ । यस वनमा हाल ठेकेदार थापाले नै काम गर्दै आएका छन् । तस्विर ः पक्राउ परेका काठसहितका ट्याक्टरहरु
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update